बहुआयामिक चुनौतीको चाङका वावजूद आफ्नो कर्तव्य पथमा सदैव अडिग नेपाल प्रहरी

अत्यन्तै अकल्पनीय रूपमा आएको भोटोकोशी बाढीका कारण देखा परेका चुनौतीहरूलाई सम्बोधन गर्न सीमित साधनस्रोतका वावजूद पनि नेपाल प्रहरीले सम्पूर्ण संयन्त्रहरू प्रयोग गरी आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन निरन्तर लागि परेको छ । सूचना संकलन एवम् विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधनस्रोत, दक्ष जनशक्ति एवम् प्रविधिको प्रयोगलाई समेत प्राथमिकतामा राखी नेपाल प्रहरी कार्यक्षेत्रमा अहोरात्र खटिरहेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार समग्र विपद् व्यवस्थापनको लागि ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन भए । तथ्याङ्क अनुसार बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ८ सय ५३ जनाको उद्दार गरिएको छ भने हालसम्म ५ हजार १५ जना बेपत्ता छन् ।

• बाढी प्रभावित क्षेत्रमा खोजीको लागि प्रभावकारी रूपमा प्रहरी परिचालन, प्रहरी कुकर परिचालन एवम् ड्रोन क्यामेराको प्रयोग

हजारौं संख्यामा सम्पर्कमा नआएका नागरिकहरूको खोजीको लागि नेपाल प्रहरी निरन्तर रूपमा क्रियाशील छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन्, ‘उद्दार तथा खोज कार्यलाई प्रभावकारी बनाउन आवश्यकता अनुरूप विशेष टोलीहरू परिचालन गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा प्र.ना.म.नि. को नेतृत्वमा नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र गठन गरी २४ सै घण्टा मोनिटरिङ गर्ने गरिएको छ ।’ उक्त केन्द्रमा सम्पर्कविहीन आफन्तको खोजी तथा उद्दारको लागि आफन्तका परिवारहरूको फोन आउने गरेको र सोही विवरण अनुसार खोजीको लागि सम्बन्धित प्रहरी युनिटहरूमा जनाकारी गराउँदै आइरहेको उनी बताउँछन् । प्राप्त तथ्याङ्क अनुसार १ हजार ३ सय ५१ पटक यस केन्द्रमा आफन्तको खोजी र उद्दारका लागि अनुरोध आएको छ ।

मृतक तथा बेपत्ता विदेशी नागरिकहरूको नेपालस्थित विभिन्न देशहरूका दूतावास, कुटनीतिक नियोगका साथै अन्य विदेशी संस्थाहरूलाई सूचना आदन प्रदानका लागि नेपाल प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा Missing Help Desk स्थापना गरिएको छ ।
प्रहरीले साधनस्रोतको सीमिततालाई कमजोरी नमानी उपलब्ध साधनस्रोतलाई नै उच्चतम् प्रयोग गरिरहेको छ । स्थानीय तह एवम् विभिन्न संघसंस्थाहरूले समेत प्रहरीलाई आवश्यक साधनस्रोत जुटाउन सहयोग गरिरहेका छन् । केनाइन(तालिम प्राप्त कुकुर)को परिचालन गरी प्रभावित क्षेत्रमा खोजी कार्यमा जुटिरहेको छ भने भौतिक जटिलतामा ड्रोन क्यामेराको समेत प्रयोग गर्दै खोजी कार्यलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी तल्लीन छ । ड्रोन क्यामेराको प्रयोगमा नै प्रहरीले नुवाकोट विदुर नगरपालिका-१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारेको थियो । नजिकै भग्नावशेषबाट प्रहरीले जस्ताको पाता, काठ, डोरी लगायतको सामाग्रीहरू प्रयोग गरी शव भएको घरसम्म पुगेको थियो ।

• वैज्ञानिक रूपमा शव व्यवस्थापन, डिएनए प्रोफाइलिङ हुँदै

नेपाल प्रहरीले उद्दार र खोजी अभियानसँगै पहिचान हुन नसकेका शव र मानव अङ्गको व्यवस्थापनको लागि फोरेन्सिक विशेषज्ञको सहयोगमा निरन्तर कार्य गरिरहेको छ । संकलित शवहरूको संख्या बढ्दै गइरहेको र शवहरू सडी सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम हुने हुँदा शवको व्यवस्थापनमा वैज्ञानिक विधि अवलम्बन गरियो । Scene of Crime Officer (SOCO) सहितको टोली मृत्यु भएका व्यक्तिहरूको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पुरा गर्दै शव व्यवस्थापनमा कार्य गर्‍यो । शवलाई सुरक्षित रूपमा Dead Body Bag मा राख्ने, फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने र सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गर्ने कार्य गरियो । वैज्ञानिक रूपमा शवको पहिचान गर्न सकिने गरी डिएनए नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था समेत गरियो । यस्तै फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारहरूले डिएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अंग एकिन गर्न सक्ने प्रक्रियाको लागि नेपाल प्रहरी अस्पताल महाराजगंजले डिएनए प्रोफाइलिङ समेत गरिरहेको छ ।

• विपद्को समयमा हुनसक्ने आपराधिक घटना प्रति निगरानीलाई अझ तीव्र बनाउँदै प्रहरी

विस्थापितका खाली घरको सुरक्षा तथा विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रणमा समेत प्रहरी निरन्तर लागि परेको छ । सुरक्षाकर्मी विपद्को समयमा खोज तथा उद्दारमा व्यस्त रहेको मौका छोपी लुटपाट, चोरी गर्ने जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न नियमित भन्दा प्रहरीले आफ्नो गस्ती एवम् निगरानीलाई थप वृद्धि गर्दै अगाडि बढेको छ । विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय छ ।

सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रति पनि प्रहरीले आफ्नो निगरानी बढाएको छ । विपद्को समयमा गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा राहत तथा उद्दार कार्यमा अवरोध पुर्‍याउनेहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी कटिवद्ध छ ।

• प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार प्रदान गर्नुका साथै राहत वितरण एवम् सामुदायिक सचेतना अभिवृद्धिमा समेत क्रियाशील

बाढी प्रभावित क्षेत्रमा घाइते भएका व्यक्तिहरूको स्वास्थ उपचारमा समेत प्रहरी अग्रसर छ । नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक टोलीले घाइतेहरूको स्वास्थ्य उपचारमा निरन्तर लागि परेका छन् । घाइतेहरूलाई सामान्य अवस्थामा ल्याउन र विनाशकारी बाढीको कारण उत्पन्न हुन सक्ने मानसिक तनावलाई न्यूनीकरण गर्न उनीहरूको स्वास्थ्यको साथ साथै मनोचिकित्सक परामर्शमा समेत प्रहरी अस्पतालका विशेषज्ञ टोली क्रियाशील छन् । विभिन्न जिल्लाहरूमा स्थापित होल्डिङ सेन्टरमा रहेका उद्दार गरिएका व्यक्तिहरूलाई पारदर्शी राहत वितरणमा स्थानीय तह एवम् सरोकारवाला निकायसँग समन्वय गर्दै प्रहरीले काम गरिरहेको छ ।

यस विषम परिस्थितको दु:खद घडीमा नागरिकको साथमा रहेर प्रहरीले नागरिकको घाउमा मलम लगाउने मात्र होइन उनीहरूप्रतिको दायित्वबोध गरी जिम्मेवारी वहन गर्दै आइरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार प्रहरीले बाढी प्रभावित क्षेत्रहरूमा कुल ९२ वटा सामुदायिक सचेतना कार्यक्रम संचालन गरेको छ । सचेतना कार्यक्रमहरूमा ४१ हजार २ सय ५७ जना व्यक्तिहरू सहभागी समेत भएका छन् । यसबाट प्रहरीले नागरिकहरूलाई सामान्य जीवनयापनमा फर्काउन प्रयासरत छ ।

• महिला, बालबालिका तथा ज्येष्ठ नागरिक प्रति थप संवेदनशील हुँदै नेपाल प्रहरी

विपद् प्रभावित जिल्लाहरूका होल्डिङ सेन्टरमा रहँदै आएका महिला तथा बालबालिकाहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति नेपाल प्रहरी थप संवेदनशील भई कार्य गरिरहेको छ । महिला तथा बालबालिका विरूद्ध कुनै पनि अप्रिय घटना हुन नदिन महिला प्रहरी कर्मचारी सहितको थप टोलीहरू परिचालित भएका छन् । उनीहरूले महिला तथा बालबालिका सँग सम्बन्धित समस्या एवम् गुनासाहरू सम्बोधन गर्दै आवश्यक मनोपरामर्श समेत प्रदान गर्नेछन् । नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक सहितको टोलीले पनि स्वास्थ्य जाँचका साथै मनोपरामर्श समेत दिँदै आइरहेका छन् ।

• स्थानीय तह एवम् अन्य निकायसँग समन्वय

प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रका नागरिकलाई सहजीकरण गरिरहेको छ । बाढीले हिल्लाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, विस्थापित नागरिकका घरहरूमा सरसफाई तथा मर्मत संभार गरी पुन: प्रयोगमा आउन सक्ने अवस्थामा ल्याई विस्थापित नागरिकहरूको दैनिकीलाई सहज बनाउने प्रयास भइरहेको छ । बाढीका कारण विभिन्न ठाउँमा अवरोध भएका सडकहरूको समयमै सूचना प्रवाह गर्ने र प्रयोग गर्न मिल्ने वैकल्पिक मार्गहरूको सूचना समेत प्रवाह गरी यात्रुहरूलाई सहजीकरण गरिरहेको छ । साथै अवरोध सडक पुन:संचालनको लागि सरोकारवाला निकायसँग सहकार्य गरी यात्रुलाई आ-आफ्नो गन्तव्यमा सुरक्षित पुर्‍याउन समेत प्रहरी निरन्तर लागि रहेको छ ।

• बहुआयमिक चुनौती तर आफ्नो कर्तव्य पथमा अडिग नेपाल प्रहरी

जस्तो सुकै परिस्थिति किन नहोस्, सुख होस् वा दु:ख, आपत होस् वा विपद् हरेक पाइला पाइलामा नागरिकको साथमा रहेर प्रहरी आफ्नो कर्तव्य पथमा अडिग छ । आफ्नो दु:ख पीडा भुलाउँदै नागरिकलाई नै सर्वोपरी मानेर उनीहरूको हरेक दु:ख मा साथ दिँदै प्रहरी अगि बढिरहेको छ ।
बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा थुप्रिएको हिलो, पाँगो माटो, ढङ्गा एवम् पुन: बाढी आउन सक्ने जोखिम कायमै छ । जोखिमको अवस्थामा पनि नागरिकको दैनिक जीवनयापनलाई सहजीकरण गर्न नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । उद्दार कार्य, सम्पर्कविहीनको खोजी, शव व्यवस्थापन, पीडित समक्ष राहत पुर्‍याउने, विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि, विस्थापित नागरिकको घरको सुरक्षा लगायत बहुआयमिक सुरक्षा चुनौतीको सामना गर्दै आफ्नो कर्तव्य पुरा गर्न नेपाल प्रहरी अग्रसर छ ।

Published : Saturday, 2026 September 5, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया