दाङका बसन्तको हत्याले होस्टलहरूको सुरक्षामा गम्भीर प्रश्न उठ्यो, सरोकारवाला निकाय निर्मम बन्नुपर्छ : सांसद आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले काठमाडौं उपत्यकाका होस्टलहरूको शान्ति सुरक्षा र व्यवस्थापनमा निर्मम ढङ्गले सरोकारवाला निकायको ध्यान जानुपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद आचार्यले दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ का २३ वर्षीय बसन्ता कालाथोकीको हत्या घटनाले काठमाडौं उपत्यकाभित्र रहेका होस्टलहरूको अवस्थाको बारेमा उजागर गरिदिएको बताए । उनले छिटोभन्दा छिटो होस्टलहरूमा कडाइका साथ सरोकारवाला निकायले व्यवस्थापन गर्नुपर्ने बताए ।

रास्वपाका महामन्त्री समेत रहेका सांसद आचार्यले भने, ‘यो घटना होस्टलमा हुँदै गर्दा काठमाडौंमा रहने होस्टलहरूको म्यानेजमेन्ट कसरी भइरहेको छ ? भन्ने एकदमै तितो यथार्थ पनि हो ।’

‘होस्टलमा सपना बोकेर आउने देशभरिका विद्यार्थीको सेफ्टी इश्युजलाई हामीले कसरी मोनिटरिङ गरिरहेका छौँ ? भन्ने कुरामा हामीले रिजिट तरिकाले काम पनि गर्नुपर्छ होला,’ सांसद आचार्यले भने, ‘होस्टलमा यस्तो खालको उमेरमा बस्ने ठाउँ हो जसको म्याच्युरेटी जस्ता कुराहरूलाई प्राथमिकतामा राखेर व्यवस्थापन गर्न आग्रह गर्दछु । सम्बन्धित निकायको ध्यान जाओस् ।’

सांसद आचार्यले भने, ‘भाद्र ५ गते शंखमूलमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ का बसन्त कालाथोकी होस्टेलमा एउटा इन्सिडेन्ट हुँदैगर्दा उहाँको मृत्यु भयो । छोराको मृत्यु भएको सूचनाले दाङमा बस्ने उहाँकी ३८ वर्षीया आमा सकले गर्दा बित्नुभयो ।’

होस्टलमा कुटपिटबाट हत्या भएका कालाथोकी रास्वपाका सांसद आचार्यको निर्वाचन क्षेत्रका हुन् । आचार्य दाङ क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन् ।

‘बुवा मलेसियामा हुनुहुन्छ । आउन खोज्ने इमर्जेन्सी प्रक्रिया भरमग्दुर कोशिस गर्दा पनि आउन नसकीरहेको स्थिति छ,’ उनले भने, ‘म परिवारका विभिन्न व्यक्तिहरूसँग सम्पर्कमा छु । परराष्ट्र मन्त्रालयसँग पनि छलफल गरिरहेको छु ।’

‘आकस्मिक स्थितिमा बुवालाई छोरा र पत्नी बितेको स्थितिमा आइपुग्नका लागि यति समय लाग्ने स्थिति आफैमा अफ्ठ्यारो स्थिति हो,’ सांसद आचार्यले भने ।

‘सरकारको दुई वटा कुरामा ध्यानाकर्षण गराउन चाहन्छु । यो देश छोडेर विदेश जाने स्थिति रोक्नका लागि हामीलाई निकै समय लाग्छ । त्यो कुराको तितो यथार्थ म स्वीकार गर्दछु,’ उनले भने ।

‘आफ्नो घरपरिवार छोडेर विदेश जाँदै गर्दा घरमा हुने आकस्मिक कुराहरूमा हाइ प्रायोरटीमा उहाँहरूलाई यसमा ल्याउन सक्ने मेकानिजम के हो ? त्यो के मेकानिजम हामीले बनाइदिनुपर्छ,’ सांसद आचार्यले भने, ‘त्यो मेकानिजम बनाइदिन सकिएन भने धेरै कुरामा अफ्ठ्यारो पार्छ ।’

यसैबीच, सांसद आचार्यले गृह मन्त्रालयमा गरिमा चौधरीका आमाबुबाको भिडियो खिचिएकोप्रति आपत्ति जनाएका छन् । उनले यस विषयमा राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाए ।

मृतकका परिवार र अभियुक्तको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै उनले यस्तो कार्य बन्द गरिनु पर्ने बताएका छन् ।

सांसद आचार्यले भने, ‘गरिमा हत्याकाण्डको बारेमा जे भयो त्यसका बारेमा धेरै बोलिन । तर, हामी सबै जनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं ? जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ । र, कहीँ मेडिकल गर्दै गर्दा एउटा अक्युज्डले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’

Published : Monday, 2026 August 24, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया