अदालतको मानहानी हुनेभन्दै कांग्रेसद्वारा बागमती प्रदेश सभाको बैठक स्थगित गर्न निवेदन

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले अदालतको अर्को निर्णय नआउँदासम्मका लागि बागमती प्रदेश सभाको बैठक स्थगित गर्नका लागि निवेदन दिएको छ ।

सोमबार बागमती प्रदेश सभा, हेटौँडामा सभामुखलाई सम्बोधन गरेर कांग्रेसका प्रमुख सचेतक पुकार महर्जनले निवेदन दिएर प्रदेश सभाको बैठक स्थगित गर्न माग गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक कुमारी तामाङद्वारा उच्च अदालत, पाटनको हेटौँडा इजलासकी न्यायाधीश बबिता उप्रेतीले भाद्र १० गतेका दिन छलफलका लागि पेशी तोकिएकी छिन् । प्रदेश सभाको बैठकको आह्वान गरिएको विषयमा मुद्दा बिचाराधीन रहेको अवस्थामा प्रदेश सभा बैठक सञ्चालन गर्दा न्यायालयको मानहानी हुनेभन्दै कांग्रेसले बैठक स्थगित गर्न निवेदन दिएको हो ।

कांग्रेसले निवेदनमा भनेको छ, ‘उपर्युक्त सम्बन्धमा आज मिति २०८३ साल भाद्र ०८ गते सोमबारको दिन नवनियुक्त मुख्यमन्त्री माननीय किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत लिन बैठक आह्वान गरेको सन्दर्भमा बागमती प्रदेश सभाको राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक माननीय कुमारी तामाङ लगायतले उच्च अदालत पाटन, हेटौंडा इजलासमा न्याय निरूपणका लागि उत्प्रेषण परमादेश समेतको लागि दिनु भएको निवेदनउपर आज २०८३ साल भाद्र ०८ गते बहस पैरवी हुँदा एक न्यायाधीशको इजलासका माननीय न्यायाधीश श्री बबिता उप्रेतिबाट मिति २०८३ साल भाद्र १० गतेका दिन छलफलका लागि पेशी तोकिएको हुँदा यो मुद्धा अदालतमा विचाराधीन रहेको अवस्थामा नेपालको संविधानको धारा १९१ अनुसार ‘नेपालको कुनै अदालतमा विचाराधीन मुद्धाका सम्बन्धमा न्याय निरूपणमा प्रतिकुल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेका न्यायिक कार्यको सम्बन्धमा प्रदेश सभामा कुनै छलफल गरिने छैन’ भन्ने प्रष्ट व्यवस्था रहेकोले यही मुद्धासँग जोडिएको सरकारले विश्वासको मत लिने विषयमा आजका लागि आह्वान गरिएको बैठकमा छलफल गर्नु असंवैधानिक हुन जाने भएकोले सम्मानित अदालतको अर्को निर्णय नआएसम्मको लागि प्रदेश सभाको बैठक स्थगित गर्न यो निवेदन पेश गरेको छु ।’

Published : Monday, 2026 August 24, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया