रहस्यमय खलपात्र बालेन सरकारविरुद्ध सोझिनुपर्नेतिर र निशाना पार्टी अध्यक्षविरूद्ध किन ?

सूर्यबहादुर थापा, नेता, एमाले

पार्टीका अत्यन्तै सम्मानित नेता अमृतकुमार बोहराको एउटा फेसबुक स्टाटस, केशवप्रसाद बडालको बोली फिर्ता लिनुपर्छ भन्ने अन्तर्वार्ता, युवराज कार्की लगायतको भनिकन सार्वजनिक टिप्पणी, बौद्धिक परिषद्का अध्यक्षको अध्यक्ष कमरेडले आफैलाई आवरा भनेकोजस्तो गरी संचालित कथित चिया अभियान, केन्द्रीय सल्लाहकार परिषद सदस्यको ‘ओलीको अनुहार टेलिभिजनमा किन आइरहन्छ ? मान्छे हेर्नै चाहन्नन्’ भनेर टेलिभिजनमै दिएको अभिव्यक्ति र एकजना केन्द्रीय सदस्यको ‘ओली हटाउनु एमालेको मिसन हो !’ जस्ता टिप्पणी पढ्न पाउँदा उदेक लागेको छ ।

ती टिप्पणी सम्बन्धित व्यक्तिका सही हुन् कि पानी मिडियाले ‘ओलीलाई घर दिए बापत मुख्यमन्त्री पद उपहार’ भनेर तोडमरोड गरेका भ्रम र दुराशयपूर्ण टिकाटिप्पणीजस्तै एमालेमा अन्तध्र्वंस मच्चाउन योजनाबद्ध रूपमा गरेको कोशिसकै हिस्सा हुन् ?

सम्बन्धित कमरेडहरूको अध्यक्षसँग भेट भएको छैन भने भेटेर, कुरा भएको छैन भने मोबाइलबाट कल डायल गरी संवाद गरेर, मिडियामा उछालिएको विषयको तरंग र प्रभाव हो भने छेउदेखि टुप्पोसम्म पूरै वाक्य र सन्दर्भ सुनेर तथा विरोधीले चलखेल गर्न खोजेको दुराशय हो भने त्यसलाई रणनीतिक हिसाबले मनन गरेर सही बुझाइ, धारणा र निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ ।

व्यक्तिको स्वयं सही धारणा र दृष्टिकोण निर्माणले सार्वजनिक अभिव्यक्तिमा अहं महत्त्व राख्दछ, जसले पार्टी र व्यक्तिको छवि निर्माण गर्दछ ।

अध्यक्ष केपी शर्मा ओलीले प्रयोग गरेको ‘मेटाफर– आवरा र किर्ना’ मलाई नै हो, अझ पार्टीका नेता, कार्यकर्तालाई हो जस्तोगरी आक्रमणको तिर सोझ्याउनु बुझक्कड नेता–कार्यकर्ताको सही कार्यतरिका किमार्थ पनि होइन ।

जहाँसम्म पुनर्गठन भन्दै अध्यक्षले पद छोडिहाल्नुपने, तत्काल छोड्नुपर्ने वा अन्यथा हटाउनुपर्ने र हटाउनेजस्ता क्रियाकलाप के भइरहेका हुन ? के कतिपय साथीहरूको आज मुख्य पार्टी काम नै यहीँ भएको हो त ? यो खासमा कसले चाहेको छ– नेकपा(एमाले)ले कि अरू कसैले ? बाहिरी तत्वहरू नसकेकाले चुपचाप छन्, त्यो जिम्मेवारी भित्र सारिएको हो ?

महाधिवेशनले निर्वाचित गरेको नेतृत्व र अध्यक्षले त्यही महाधिवेशनमा प्यानलसहित अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार भएपछि प्राप्त जयपराजयको परिणामलाई स्वीकार गरेर विधानतः अघि बढ्नु उचित हुन्छ । नवौँ, दशौँ र एघारौँ महाधिवेशनमा सकेनौं ? अब टोपी हातमा लिएर कुद्दै फागुन २१ को पराजयको एक्लो जवाफदेही उहाँलाई बनाउछौं भनेर सार्वजनिक निन्दा र विरोधको अभियान संचालन गरेर पार्टी संस्थागत रूपमा निष्कर्षमा पुग्न संभव हुन्छ र ? उहाँलाई अध्यक्ष बनाउन यसैगरी लागेको भन्ने ट्याकरेकर्ड छ ? सिंगो सत्ताले अध्यक्ष ओली र एमालेलाई समाप्त पार्न खोजेकै छ, अनि एमालेकै कतिपय नेताहरूका स्वर सत्ताधारीसँग मिलेको किन त ? अध्यक्षको अभिव्यक्तिमा प्रयोग गरिएका पदावली, भाषा, बिम्ब र रूपक बुझ्न समस्या भयो भने टेलिफोन गरेर वा भेटेर सरल भाषामा बोल्न ध्यानाकर्षण गराउँदा भइहाल्छ । तर, नेतृत्व र अध्यक्षका सम्बन्धमा यस्तै तरिका र कार्यशैली अपनाउने गरेर पुगिन्छ कहाँ ? पुर्‍याउने कहाँ ? प्रायः जिल्लाहरूमा यस्तो प्रवृत्ति बढ्दै बढाउँदै जाँदा पार्टी कहाँ रहन्छ ?

Published : Sunday, 2026 August 23, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया