करोडौंको अनलाईन बेटिङ तथा क्रिप्टो कारोबारमा चिनियाँ र बंगलादेशहरूको संलग्नता, अपराध रोक्न प्रहरी सक्रिय

काठमाडौं । १७ करोड ७९ लाख रूपियाँभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङ गत चैत १९ गते काठमाडौं ठमेलबाट पक्राउ परे । यस्तै ३० लाख ४९ हजार ७ सय ३६ रूपियाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बंगलादेशी नागरिक २९ वर्षीय एमडी शेहाबुल इस्लाम गत चैत ११ गते पक्राउ परे । यसैगरी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न काठमाडौं नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल गत चैत २ गते पक्राउ परे ।

पक्राउ परेका व्यक्तिहरू प्रतिनिधि पात्र मात्रै हुन् । प्रविधिको तीव्र विकास एवम् सहज पहुँच सँगै यसको दुरूपयोगबाट हुने आपराधिक घटनाहरू पनि दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय अनलाईन बेटिङ र क्रिप्टोकरेन्सीका कारोबारहरू बढिरहेको हुँदा त्यस्ता किसिमका गतिविधि नियन्त्रण गरी संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ ।

आर्थिक वर्ष २०८२÷०८३ मा अनलाईन बेटिङमा संलग्न ४८ जना पक्राउ परे । जसमध्ये २६ जना विदेशी नागरिकहरू र २२ जना स्वदेशी नागरिकहरू रहेका छन् ।

आर्थिक वर्ष २०८१÷०८२ मा अनलाईन बेटिङमा संलग्न ९३ विदेशी नागरिकहरू समेत गरी जम्मा १ सय ४८ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०÷०८१ मा अनलाईन बेटिङमा संलग्न १३ जना विदेशी नागरिकहरू समेत जम्मा ६२ जना पक्राउ परेका थिए ।

आर्थिक वर्ष २०८२÷०८३ मा क्रिप्टोकरेन्सीमा संलग्न ४२ जना पक्राउ परे । जसमध्ये ७ जना विदेशी नागरिकहरू र ३५ जना स्वदेशी नागरिकहरू रहेका छन् ।

आर्थिक वर्ष २०८१÷०८२ मा क्रिप्टोकरेन्सीमा संलग्न ४५ विदेशी नागरिकहरू समेत गरी जम्मा १ सय १७ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०÷०८१ मा क्रिप्टोकरेन्सीमा संलग्न ५ जना विदेशी नागरिकहरू समेत जम्मा १० जना पक्राउ परेका थिए ।

विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको अवस्थामा विभिन्न अनलाईन बेटिङ प्लेटफर्महरू धेरै सक्रिय हुने गरेको देखिन्छ । अनलाईन बेटिङ र क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणमा प्रहरीको भूमिका बारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले भने, ‘प्रहरीले यस्ता अनलाईन बेटिङ नेटवर्कहरू एवम् क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण गर्नको लागि सूचना संकलन र निगरानीलाई विशेष प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । सट्टाबाजी हुने सम्भावित स्थान, गिरोह र व्यक्तिहरूको बारेमा गोप्य सूचना संकलन, अनलाईन सट्टाबाजी (विशेष गरी खेलकुद बेटिङ)मा संलग्न नेटवर्कको डिजिटल निगरानी एवम् बैंकिङ तथा डिजिटल वालेट मार्फत हुने कारोबारको निगरानीमा समेत प्रहरीले थप संवेदनशील भई कार्य गर्दै आइरहेको छ ।’

अनलाईन बेटिङ साइबर अपराध, ठगी र हुण्डीसँग पनि जोडिएको हुन्छ । यस्तो कसूरमा मानिसलाई तयारी गर्न सामाजिक सञ्जालको प्रयोग गरिन्छ र यसकै माध्यमबाट ठगी गर्ने तथा हुण्डी कारोबारलाई पनि बढवा दिने गरेको भेटिएको छ ।

सट्टाबाजी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएमा प्रयोग भएको बिगो जफत गरी कसूर गर्ने व्यक्तिलाई १ वर्षसम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुन्छ । भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्ष सम्म कैद र १ लाख रूपियाँसम्म जरिवाना हुन्छ भने आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा ५ वर्षसम्म कैद र ५० हजार रूपियाँसम्म जरिवाना तथा सो बाहेकको अन्य किसिमले गरेको ठगीको हकमा ७ वर्षसम्म कैद र ७० हजार रूपियाँसम्म जरिवाना हुन्छ ।

यदि साइबर अपराध आकर्षित भएमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम सजाय हुन्छ ।

क्रिप्टोकरेन्सी ‘ब्लकचेन’ भनिने प्रविधिमा आधारित हुन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिने हुनाले यसको अस्तित्व अनलाईनमा मात्र सीमित रहन्छ । भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ । यस भर्चुअल मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन । समग्र आर्थिक सन्तुलन कायम नहुने, वित्तीय स्थायित्व नहुने, मौद्रिक नीति कार्यान्वयन नहुने, विदेशी विनिमय सञ्चिती सम्बन्धी, वित्तीय ग्राहक संरक्षण, लगानी असुरक्षा र ठगी क्रिप्टोकरेन्सी प्रयोगका मुख्य जोखिमहरू हुन् ।

क्रिप्टोकरेन्सीमा संलग्नहरूलाई मुलुकी अपराध संहिता (संशोधन सहित), २०७४ को दफा २६२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसूर, बिगो र सो बाट बढे वा बढाएको सम्पत्ति समेत जफत गरी ५ वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुन्छ ।

Published : Wednesday, 2026 August 19, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया