वैदेशिक रोजगारीमा भइरहेको ठगीबारे अध्ययन गर्न सांसद शाहीद्वारा संसदीय छानबिन समितिको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

मंगलबारको सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले थामिएको भए पनि राज्यले श्रमिकहरूको पीडाप्रति आँखा चिम्लेको आरोप उनले लगाए ।

‘नेपालबाट श्रम स्वीकृति लिएर र नलिई वैदेशिक रोजगारीमा जानेको संख्या झन्डै एक करोड पुग्न लागेको छ,’ सांसद शाहीले भने, ‘उनीहरू विदेशमा ठगिएका छन्, अलपत्र परेका छन् र सम्झौता अनुसारको काम र तलब नपाउँदा मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य छन् ।’

सांसद शाहीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरूको संख्या भयावह रहेको उल्लेख गर्दै हालसम्म १६ हजार ७६० नेपालीको शव फर्किएको बताए ।

उनले जापानको उदाहरण दिँदै पछिल्लो एक वर्षमा त्यहाँ मृत्यु भएका ७३ नेपालीमध्ये २८ जनाले आत्महत्या गरेको बताए ।

कन्सल्टेन्सी र गिरोहले कुकिङ र विद्यार्थी भिसाका नाममा मोटो रकम असुल गरी युवाहरूलाई विदेशमा अलपत्र पारेका कारण यस्तो अवस्था सिर्जना भएको उनले बताए ।

Published : Tuesday, 2026 August 18, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया