पाँच लाख घुस लिएको भन्दै अख्तियारद्वारा कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपियाँ घुस लिएको आरोपमा कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट रामरिझन यादवविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर भएको हो ।

आर्थिक वर्ष २०७८÷७९ को पूर्ण कर लेखापरीक्षणका लागि पेस गरिएका कागजात नमिलेको भन्ने नाउँमा पाँच लाख रुपियाँ घुस रकम लिएको दाबी अख्तियारको छ ।

आयोगमा परेको उजुरी र सूचनाका आधारमा सेवाग्राहीबाट पाँच लाख रुपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा पालले लेखापरीक्षण तथा कर निर्धारण गरी कर फछ्र्योट गर्ने सिलसिलामा पेस गरिएका बिलबिजक नमिलेको र नमिलाए काम नहुने भन्दै यादवमार्फत रकमको बार्गेनिङ गरी घुस रकम लिएको तथ्य खुल्न आएको दाबी अख्तियारको छ ।

कर अधिकृत पाल र चार्टर्ड एकाउन्टेन्ट यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायको माग छ । चार्टर्ड एकाउन्टेन्ट यादवमाथि काम मिलाइदिने नाममा सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी सेवाग्राहीलाई घुस दिन दुरुत्साहन गरेको आरोप छ ।

Published : Tuesday, 2026 August 18, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया