भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।

मंगलबार पत्नीसहित पशुपति मन्दिरमा पुगेका सेठले पशुपतिनाथको दर्शन गरेका हुन् । उनले विधि अनुसार पशुपतिनाथको दर्शन र पूजाअर्चना गरेको जनाइएको छ ।

भारतीय स्थल सेनाध्यक्ष जनरल सेठले यसअघि मंगलबार नै प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी रहेका थिए ।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका हुन् ।

सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने परम्परा छ ।

सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।

Published : Tuesday, 2026 August 18, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया