कांग्रेसको राष्ट्रिय सम्मेलनमा सांगठनिक संरचनामा व्यापक फेरबदल गर्ने प्रस्ताव प्रस्तुत
काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा सांगठनिक संरचनामा व्यापक फेरबदल गर्ने प्रस्ताव भएको छ ।
शुक्रबारदेखि जारी राष्ट्रिय सम्मेलनको शनिबारको बन्दसत्रमा कांग्रेसको विधान संशोधनको प्रस्ताव अघि सारिएको हो । कांग्रेसले टोलदेखि केन्द्रसम्मका कार्यसमितिको संरचना, सदस्यता प्रणाली, समावेशिता र युवाको प्रतिनिधित्वमा परिवर्तन गर्न खोजेको छ ।
कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा गठित ‘कानून तथा विधान समिति’ले तयार गरेको ‘विधान संशोधन अवधारणा पत्र’मा सांगठनिक संरचनामा व्यापक फेरबदल गर्ने तयारीसहितको प्रस्ताव बन्दसत्रमा प्रस्तुत गरेको छ ।
नेता लेखकले प्रस्तावनामा कार्यसमितिलाई संख्यात्मक रूपमा चुस्त र छरितो बनाउने तथा सोही संरचनाभित्र समावेशिताको प्रतिशत बढाउने नीति लिएको जनाएका छन् ।
प्रस्तावनामा पार्टीका सबै तहमा युवाको सहभागिता बढाउने प्रस्ताव गरिएको छ । समितिले टोल कार्यसमितिको संरचना भूगोल र जनसंख्याका आधारमा निर्धारण गर्ने तथा त्यसमा एक उपसभापति र कोषाध्यक्षको व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।
शेरबहादुर देउवा समूहले टोल कार्यसमितिमा महिला, दलित, जनजाति तथा विशेष क्षमता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गर्न खोजेको देखिन्छ ।
टोल र वडा समितिमा रहने न्यूनतम क्रियाशील सदस्यको संख्या स्पष्ट रूपमा निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तावनामार्फत गरिएको छ ।
‘वडा, गाउँपालिका, क्षेत्र, क्षेत्रीय प्रतिनिधिहरूको निर्वाचनमा १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा भूगोल र जनसंख्याका आधारमा महिला, श्रमिक तथा पेशागत क्षेत्र आदिबाट प्रतिनिधित्व गराउने व्यवस्था मिलाइनेछ,’ प्रस्तावमा भनिएको छ ।
नगर, उपमहानगर तथा महानगरपालिकाका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयन गर्दा पनि भूगोल र जनसंख्यालाई आधार बनाउने प्रस्ताव गरिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया