१४औं महाधिवेशन पुनर्स्थापित हुनेबित्तिकै एकै ठाउँमा अगाडि बढ्न सक्छौं : नेता साउद

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीमा दिगो एकता कायम गर्न १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पुनर्स्थापित गरिनुपर्ने सर्त राखेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै साउदले १४औँ कार्यसमितिको पुनर्स्थापनापछि मात्र शेरबहादुर देउवाको नेतृत्वमा १५औं महाधिवेशन सम्पन्न गर्न सकिने बताए ।

नेता साउदले भने, ‘पार्टी एकताका लागि हाम्रो सर्त स्पष्ट छ, पहिले निर्वाचन आयोगले गरेको निर्णय गलत थियो । १४औँ महाधिवेशनलाई पुनर्स्थापित गरेर त्यसैलाई एकताको महाधिवेशन बनाएर अघि बढ्यौं भने मात्र दिगो एकता सम्भव छ ।’

‘१४औं महाधिवेशन पुनस्र्थापित हुनेबित्तिकै १५औं महाधिवेशनमा हामी सबै एकै ठाउँमा अगाडि बढ्न सक्छौं,’ उनले भने ।

‘उहाँहरूले यो कुरा नमानेको खण्डमा के हुन्छ, तपाईंहरू आफैँ अनुमान गर्न सक्नुहुन्छ,’ नेता साउदले भने, ‘पार्टी एकताका बारेमा सबै संवेदनशील हुनुपर्छ र यो संवेदनशीलता उनीहरूको तर्फबाट देखाइनु अझ बढी जरुरी छ ।’

१४औं महाधिवेशनमा विशेष अधिवेशन पक्षधर र आफूहरू सबै एकै ठाउँमा रहेको स्मरण गराउँदै नेता साउदले विधिसम्मत ढंगले पुरानै कार्यसमितिलाई सक्रिय बनाएर मात्र आगामी १५औं महाधिवेशनको निकास खोज्नुपर्ने बताए ।

Published : Saturday, 2026 August 15, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया