काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस २०२६ को उत्सव कार्यक्रम सम्पन्न
काठमाडौं । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा विशेष कार्यक्रमसहित उत्सव मनाइएको छ ।
शनिबार लैनचौरस्थित राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको प्रमुख आतिथ्यतामा ‘वन्दे मातरम’् गायनसँगै कार्यक्रमको शुभारम्भ भएको हो । राजदूत श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका छन् । कार्यक्रममा भारतीय राष्ट्रिय गान समेत गाइएको थियो ।
कार्यक्रममा भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरिएको सम्बोधन प्रसारण समेत गरिएको राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका दिवंगत ११ जना कर्मचारी (नेपाली)का श्रीमती र निकटतम नातेदारलाई सम्मान गरेका छन् । राजदूतव श्रीवास्तवले कुल नेरु. ८.२ करोडको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरेका छन् ।

राजदूत श्रीवास्तवले ८०औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा दूतावासद्वारा आयोजित विविध प्रतियोगिताका विजेताहरूलाई सम्मान गरेका छन् । प्रतियोगिताहरूमा ‘विकसित भारत’ विषयवस्तुबारे चित्रकला प्रतियोगिता, विकसित भारत दौड तथा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता समावेश थिए ।
समारोहमा ‘भारतको जानिए’ हाजिरीजवाफ प्रतियोगिताको विशेष संस्करणका विजेताहरूलाई पनि सम्मान गरिएको छ ।
दूतावासले नेपालका सातै प्रदेशमा फैलिएका २२ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा रेको छ । घोषणाले शैक्षिक स्रोतहरूमा पहुँच बढाउने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंमा आयोजित भारतको ८०औँ स्वतन्त्रता दिवसको उत्सवमा नेपालमा रहेका भारतीय समुदायका सदस्यहरू, भारतका मित्रहरूका साथै दूतावासका अधिकारीहरू र उनीहरूका परिवारको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले जीवन्त साँस्कृतिक प्रस्तुति र देशभक्तिपूर्ण गीतहरू पनि प्रस्तुत गरेका थिए ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया