बस आफै गुडेर पार्किङमा रहेको भ्यानलाई ठक्कर दिँदा २ को मृत्यु, ३ यात्रु घाइते
शिवपुरी । नुवाकोट जिल्लामा बसले रोकिराखेको माईक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार बिहान शिवपुरी गाउँपालिका वडा नं. ७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माईक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
बिहान अन्दाजी बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट ईभी भ्यान र बस सडकबाट अन्दाजी ३०/४० मिटर तल भिरमा खसेका छन् ।
दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । घाइतेमध्ये दुई जनालाई अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बस्ने अन्दाजी ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ बस्ने अन्दाजी ६५ वर्षीया उदयमाया खत्री रहेको प्रहरीद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
घाइते हुनेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० बस्ने अन्दाजी ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन् ।
घाइते तीन जनाको ग्रिनसिटी अस्पताल, काठमाडौंमा उपचार भइ रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया