एकले अर्को कांग्रेसीलाई होचो देखाउन खोज्ने प्रवृत्तिले पार्टी कमजोर भयो : कुन्दनराज काफ्ले

काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले एक कांग्रेसीले अर्को कांग्रेसीलाई होचो देखाएर आफू अग्लो हुनखोज्ने प्रवृत्तिले पार्टी कमजोर भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै काफ्लेले भने, ‘पहिला मेचीको कांग्रेसलाई दुख्दा महाकालीको कांग्रेसलाई दुख्थ्यो । त्यसैले कांग्रेस बलियो थियो ।’

उनले भने, ‘आज एक कांग्रेसलाई पर्दा अर्को कांग्रेसले खुच्चिङ गर्ने संस्कृतिको विकास भएको छ । यो कसले गर्‍यो ?’

कांग्रेसले यसको चिन्तन गर्नुपर्ने बेला आएको उनले बताएका छन् । अहिले एउटा कांग्रेसलाई होचो देखाएर अर्को अग्लो हुनखोज्ने प्रवृत्ति रहेको पनि उनले बताए ।

‘एउटालाई कमजोर देखाएर आफू बलियो हुनखोज्ने संस्कृति अहिले कांग्रेसको भाइरस हो । त्यो भाइरस १५ औं महाधिवेशनमा ठेगान लगाउनुपर्ने बेला छ,’ उनले भने ।

कांग्रेसका नेतृत्व हुँ भन्ने व्यक्तिबाटै यसो भइरहेको उनले बताएका छन् । ‘त्यो भाइरसलाई अहिल्यै उपचार नगरे कसैलाई पनि जीवित राख्ने छैन,’ काफ्लेले भने ।

Published : Saturday, 2026 August 15, 1:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया