आत्मासहितको कांग्रेसको आवश्यकता छ, त्यसका लागि राष्ट्रिय भेला आयोजना गर्‍यौं : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले विशेष महाधिवेशनबाट आधिकारिकता पाएको गगन थापा नेतृत्वको कांग्रेसमा आत्मा नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले अहिले आधिकारिकता पाएको कांग्रेससँग शरीरमात्रै भएको बताए ।

‘हामी एक्लै हाँक्छौं भन्ने मानसकिता हावी भयो । त्यसकारण सहमति हुन सकेन,’ डा.महतले भने, ‘त्यसमा हाम्रो कुनै दोष छैन । तयसपछि हामीले राष्ट्रिय भेलाको आयोजना गर्‍यौं । हामीले किन यो आयोजना गर्‍यौं भने ।’

उनले भने, ‘नेपाली कांग्रेसको आधिकारिकता जहाँ छ, त्यसमा नेपाली कांग्रेसको आत्मा छैन । शरीरमात्रै छ । आत्मालाई जबरजस्ती त्यो शरीरबाट बाहिर धकेलियो ।’

अब अहिले आत्मासहितको नेपाली कांग्रेसको आवश्यकता रहेको उनले बताए । ‘त्यसकारण आत्मासहितको नेपाली कांग्रेसको आवश्यकता छ । यो नजोडिकन आत्मासहितको कांग्रेस बन्न सक्दैन भनेर राष्ट्रिय भेला मन्थनका लागि आयोजना गर्‍यौं,’ उनले भने ।

‘हामी सबै मिलेर १४औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाजीले वैशाखमा नियमित अधिवेशन गर्ने सबैको सहभागितामा निर्णय हुँदाहुँदै पनि विशेष अधिवेशनको प्रायोजन गरियो र के भनियो भने यदी आम निर्वाचन पहिला पार्टीको नेतृत्व परिवर्तन भएन भने नेपाली कांग्रेस परिणाम ल्याउन सक्दैन,’ डा.महतले भने ।

उनले भने, ‘अत्यन्तै सानो पार्टीको रुपमा खुम्चिन्छ । नेतृत्व परिवर्तन गर्नैपर्छ, युवा नेतृत्व आउनैपर्छ । त्यसमाथि पनि फलानाकै नेतृत्व आउनैपर्छ भनेर विशेष महाधिवेशनको प्रायोजन गरियो । जसको कुनै आवश्यकता थिएन ।’

Published : Saturday, 2026 August 15, 12:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया