कांग्रेसको राष्ट्रिय भेलामा सहभागी हुन प्रा.डा.कोइरालाको अपील, ब्यानरमा देउवासहितका नेताहरूको तस्बिर राखियो

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पार्टीभित्रको बृहत एकता र सम्वादका लागि राष्ट्रिय भेलामा सहभागी हुन अपील गरेका छन् ।

बिहीबार संयोजक प्रा.डा.कोइरालाले सामाजिक सञ्जालमार्फत सभापति देउवा र आफ्नो तस्बिरसहितको राष्ट्रिय भेलाको ब्यानर सार्वजनिक गर्दै राष्ट्रिय भेलामा सहभागी हुन देशभरिका लाखौँ नेता तथा कार्यकर्ताहरूसँग अपील गरेका हुन् । ब्यानरमा वीपी कोइरालासहित सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिर राखिएको छ ।

प्रा.डा.कोइरालाले भने, ‘प्रिय साथीहरू । नेपाली कांग्रेसको गौरवशाली इतिहास, वर्तमान चुनौती र भविष्यको दिशाबारे गम्भीर छलफल गर्दै पार्टीमा सहमति, सहकार्य र एकताको वातावरण निर्माण गर्ने उद्देश्यका साथ श्रावण २९, ३० र ३१ गते आयोजना हुने राष्ट्रिय भेलामा यहाँहरूको गरिमामय सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु ।’

‘विचार राखौं, संवाद गरौं र नेपाली कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध तथा पार्टीलाइ जनमुखी बनाउने अभियानमा सहभागी बनौं,’ प्रा.डा.कोइरालाले भने ।

‘तपाईंको उपस्थितिले राष्ट्रिय भेलाको महत्व र सफलतालाई थप उचाइ प्रदान गर्नेछ,’ प्रा.डा.कोइरालाले भनेका छन् ।

राष्ट्रिय भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा साउन २९ गते शुक्रबार बिहान ११ बजे उद्घाटनको कार्यक्रम रहेको छ ।

सभापति देउवा आज बिहीबार काठमाडौं आउँदैछन् । उपचारपछि देउवा १२ बजेर २५ मिनटमा थाइ एयरको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । देउवाको भव्य स्वागत हुन लागेको छ । विमास्थलको मूल गेट र तिलगंगामा कांग्रेसका नेता तथा कार्यकर्ताहरू जम्मा भएका छन् । हजारौँको संख्यामा उपस्थित भएर गाडी र मोटरसाइकल र्‍यालीसहित देउवालाई महाराजगञ्जस्थित निवासमा पुर्‍याइनेछ ।

Published : Thursday, 2026 August 13, 9:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया