कांग्रेसमा बृहत एकताका लागि सहयोग गर्न तयार छु, पार्टीको हितमा दुबै पक्षले अतिवाद त्याग गरौं : मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारबारे ब्रिफिङ गरेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बानियाँले कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकार र वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेका हुन् ।

बानियाँले प्रदेशको ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेकोमा सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिए पछि अल्पमतमा परेको परिस्थितिबारे अवगत गराएका छन् । उनले हालको प्रदेशसभाको अंकगणित अनुसार बहुमतका लागि चाहिने संख्या कसैले पनि पु¥याउन नसकेको बताए ।

हाल एमाले र नेकपाबीच सरकार गठनका लागि गठबन्धन भएपनि प्रदेशसभामा रहेका राप्रपा र नेमकिपाले कतै समर्थन नगरेको र हाम्रो नेपाली पार्टी कांग्रेस नेतृत्वको सरकारमा समावेश भइसकेकाले बहुमत पुग्न नसक्ने अवस्था रहेको उनले बताए ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलले सबै दललाई नेपाली कांग्रेस नेतृत्वको सरकारमा समावेश भई प्रदेशमा देखिएको अन्यौलता अन्त्य गर्न लिखित आग्रह गरेपछि हाम्रो नेपाली पार्टी सरकारमा आएको बताउँदै उनले अन्य दललाई सरकारमा सहभागी गराउन आफू प्रयासरत रहेको जानकारी गराएका थिए ।

पार्टीको बागमती प्रदेशसभापति समेत रहेका बानियाँले पार्टीको आन्तरिक एकता मजबुद हुनुपर्ने धारणा राखेका थिए । विगतमा २००७ सालदेखि हालसम्मका आन्दोलनमा कांग्रेसले अन्य पार्टीसंग समेत सहकार्य गरेको स्मरण गराउँदै आफ्नो आन्तरिक एकता मजबुद बनाउनुपर्नेमा जोड दिए ।

उनले विगतमा पनि सरकार र पार्टी नेतृत्वमाथि आलोचना हुने गरेकाले नेतृत्वमाथिको आलोचनालाई सामान्य रुपमा लिंदै पार्टी एकतालाई मजबुद्ध बनाउनेतर्फ अघि बढ्न आग्रह गरे । पार्टी एकताका लागि आफुले गर्नुपर्ने सहयोग पार्टी नेतृत्वलाई सधैं रहने उनको भनाई थियो ।

उनले पार्टीका पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई समेत पार्टी कार्यालयबाटै आफ्नो गतिविधि अघि बढाउन र पार्टीभित्रै संघर्ष गर्न आग्रह गरे । पार्टीभित्रका दुबै पक्षका केही अतिवादी प्रवृत्तिको आलोचना गर्दै उनले आफ्नो काम र व्यवहार सकारात्मक ढंगले अघि बढाउन उनले सुझाव दिए ।

Published : Wednesday, 2026 August 12, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया