कोशी प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरू भारत भ्रमणका लागि प्रस्थान

काठमाडौं । भारत सरकारको निमन्त्रणामा कोशी प्रदेश जिल्लाहरूका जनप्रतिनिधिहरू भारत भ्रमणमा प्रस्थान गरेका छन् ।

इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका नगर प्रमुख, गाउँपालिकाका अध्यक्ष तथा प्रशासकीय अधिकृतहरू सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा प्रस्थान गरेको हो । भारत सरकारको क्षमता अभिवृद्धि पहलअन्तर्गत अध्ययन भ्रमणका लागि जनप्रतिनिधिहरूको टोली भारत प्रस्थान गरेको नेपालका लागि भारतीय राजदूतावास, लैनचौरले जनाएको छ ।

कार्यक्रमअन्तर्गत हैदराबादस्थित ‘नेशनल इन्स्टिच्युट अफ रुरल डेभलपमेन्ट एण्ड पञ्चायती राज’मा कृषि, दिगो विकास र सुशासनमा केन्द्रित विशेष तालिम समावेश रहेको छ । यो पहिलो ज्ञानको आदान प्रदानलाई प्रवर्द्धन गर्ने, संस्थागत क्षमता सुदृढ गर्ने तथा दुई देशबीचको लामो समयदेखिको साझेदारीलाई अझ प्रगाढ बनाउने भारत र नेपालको साझा प्रतिबद्धतालाई झल्काउने विश्वास भारत सरकारले लिएको जनाएको छ ।

हालैका दिनहरूमा भारतको अध्ययन भ्रमणमा जाने नेपालका स्थानीय सरकारका प्रतिनिधिहरूको यो चौथो टोली हो ।

यसअघि संखुवासभा (कोशी प्रदेश), हुम्ला (कर्णाली प्रदेश) तथा डडेलधुरा, बैतडी र दार्चुला (सुदूरपश्चिम प्रदेश)का जनप्रतिनिधिहरूको टोलीले भ्रमण गरिसकेको छ । जसले स्थानीय सरकारको तहमा द्विपक्षीय सहकार्यको बढ्दो गतिलाई उजागर गरेको जनाइएको छ ।

Published : Tuesday, 2026 August 4, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया