वनको ३९ लाख हिनामिना, उपभोक्ता समूहका पदाधिकारीसहित ११ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका– १, स्थित मालिका सामुदायिक वनको ३९ लाख रुपियाँ बढी हिनामिना गरेको आरोपमा उपभोक्ता समूहका पदाधिकारीहरूसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार अख्तियारले विशेष अदालत, काठमाडौंमा उपभोक्ता समूहका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकसमेतको मिलेमतो र योजनामा आर्थिक वर्ष ०७२÷७३ देखि आ.व ०७६÷७७ सम्मको अवधिमा कुल ३९ लाख १२ हजार ५६० रुपियाँ हिनामिना गरेको दाबीसहित आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उपभोक्ता समूहले काठ बिक्री गरेबापत आम्दानी भएको रकम काम नै नभएको शीर्षकहरूमा खर्च भएको भनी झुट्टा विवरण तयार गरी लेखापरीक्षण प्रतिवेदनमा देखाएको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले उपभोक्ता समूहका पूर्वअध्यक्ष खीमबहादुर सावद, सचिव बनौली रोकाय, कोषाध्यक्ष जमानसिंह धामी, पूर्वअध्यक्ष पदमसिं सावद, सचिव पूर्णदेवी धामी, कोषाध्यक्ष रूद्रबहादुर बन्तोला, पूर्वअध्यक्ष हर्कबहादुर बुढा, सचिव तुल्सी दानी, कोषाध्यक्ष चक्रबहादुर सावद तथा पाठक एन्ड एसोसियट्सका रजिस्टर्ड लेखापरीक्षक डिल्लीराम पाठक र प्रेमबहादुर बिसी एन्ड कम्पनीका रजिस्टर्ड लेखापरीक्षक प्रेमबहादुर बिसीलाई प्रतिवादी कायम गरेको छ ।

Published : Monday, 2026 August 3, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया