नर्सहरूद्वारा काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन, पाँचौँ दिनमा ज्योतिको अनशन

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौंमा नर्सहरूले प्रदर्शन गरेका हुन् । नर्सिङ क्षेत्रको सुधारका लागि नर्स ज्योति रानाभाटले शुरु गरेको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका छन् । नर्स रानाभाटको जीवन रक्षाका साथै उनका मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ ।

उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् ।

उनीहरूले १५ बुँदे माग पूरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔं स्वास्थ्य बचाऔं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सत्याग्रहमा रहेकी ज्योति रानाभाटका माग र स्वास्थ्य अवस्थाप्रति आफू गम्भीर रूपमा संवेदनशील रहेको बताएकी छिन् ।

सोमबार जारी गरेको वक्तव्यमा मन्त्री मेहताले आफू स्वास्थ्यकर्मीसमेत भएकाले रानाभाटको स्वास्थ्य अवस्था र उनका मागप्रति विशेष चासो रहेको उल्लेख गर्दै समस्याको समाधान संवादबाटै सम्भव हुने बताएकी छिन् ।

मन्त्री मेहताले मन्त्रालयले शुरुदेखि नै वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा सम्बन्धित निकायमार्फत पटक–पटक संवाद र समन्वयको प्रयास गर्दै आएको बताएकी छिन् । यस विषयमा स्वास्थ्य तथा शिक्षा सम्बन्धी संसदीय समितिका सभापतिले समेत निरन्तर वार्ताको पहल गरिरहेको उनले बताइन् ।

मन्त्री मेहताले गत साता सुनसरीमा भएको दुःखद् घटनापछि त्यसको व्यवस्थापन, पीडित परिवारसँग समन्वय तथा स्थानीय अवस्था सामान्य बनाउन आवश्यक पहलका लागि आफू हाल सुनसरीमै रहेको बताएकी छिन् । मेहताले त्यहाँको अवस्था अझै पूर्ण रूपमा सामान्य नभएकाले आफ्नो उपस्थिति आवश्यक रहेको बताएकी छिन् ।

सत्याग्रहको विषयलाई सरकारले निरन्तर प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री मेहताले सोमबार पनि सम्बन्धित पक्षसँग पुनः वार्ताको तयारी भइरहेको र सबै पक्षको सहयोगको आग्रह गरेकी छिन् ।

Published : Monday, 2026 August 3, 1:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया