प्रधानमन्त्री जनतासँग बोल्दैन, गृहमन्त्री जनतासँग हुँदैन, दम्भले मुलुक चल्दैन : रामहरि खतिवडा

तुलसीपुर । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जनताले करीव दुईतिहाइ बहुमत दिएर जिताएको प्रधानमन्त्री जनतासँग बोल्दै नबोल्ने गरेको भन्दै आलोचना गरेका छन् ।

शनिबार दाङको हापुरेमा शहीद शालिकराम घिमिरेको २८औँ स्मृति दिवस एवम् सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले भने, ‘कुनै पार्टीले जतेर दुईतिहाइको नजिक पुगेका छन् । यो दुईतिहाइ नजिक पुग्ने पद्धति हामीले निर्माण गरेका हौँ ।’

‘जनताबाट निर्वाचित गरेको प्रधानमन्त्री जनतासँग बोल्दैन । जनताबाट निर्वाचित भएको गृहमन्त्री जनतासँग हुँदैन । कहाँ के बोल्छ ? थाहा छैन । फेरि पनि उही घमण्ड, उही दम्भले मुलुक चलाउने बाटोमा गएको छ,’ नेता खतिवडाले भने ।

‘हामी जनताभन्दा ठूलो कोही भन्दैनौँ । उहाँहरू सत्ताभन्दा ठूलो कोही छैन भन्नु हुन्छ,’ खतिवडाले भने, ‘अन्तिममा जनताको जीत हुन्छ । फेरि हामी तपाईहरूको साथमा हुने छौँ ।’

कांग्रेस नेता खतिवडाले रास्वपाले पाएको झण्डै दुईतिहाइको बहुमत र प्रधानमन्त्री बालेन्द्र शाहको कालो चस्मा र कालो लुगाको विषयमा टिप्पणी गरेका थिए । खतिवडाले भने, ‘कोही कालो चस्मा लगाउने । कोही लुगा कालो लगाउने । अनुहार देख्न नपाउने मात्र नयाँ हो भने मेरो केही प्रतिक्रिया छैन ।’

नेता खतिवडाले कांग्रेस कमजोर हुँदा देशको राष्ट्रियता पनि कमजोर भएको बताए । उनले भने, ‘कांग्रेस कमजोर हुँदै जाँदा देशको हालत के भयो ? राष्ट्रियतामाथि आघात भयो । प्रधानमन्त्री भन्दै हुनुहुन्छ । हामीले अर्काको जग्गा मिचेका छौँ । यही हो राष्ट्रियता ? यही हो हाम्रो दह्रो प्रजातन्त्र ? होइन ।’

‘कहिले काहीँ चुनावमा हारजित हुन्छ । यो देश भनेको नानीमैयाँले चुनाव जितेको र कृष्णप्रसाद भट्टराईले चुनाव हारेको देश हो,’ नेता खतिवडाले भने ।

उनले भने, ‘कसैले सिंहदरबार र सर्वोच्च अदालत जलाए । कसैले संसद भवन जलाए । कसैले राष्ट्रपति भवन जलाए । हामीले बनायौँ । अरुले जलाए । बनाउने ठीक कि जलाउने ठीक तपाईहरूले निर्णय गर्नुपर्छ । हामी मान्छे बचाउँछौँ । अरु मान्छे मार्छन् ।’

नेता खतिवडाले दाङ भनेको प्रजातन्त्रको पवित्र भूमि हो भनेका छन् । उनले भने, ‘०१५ सालदेखि कांग्रेसलाई जिताउँदै गर्दा हामीले कहिल्यै पनि जनतालाई हराएनौँ । जनताबाट अरु पार्टी जित्दै गरे । जनताबाट जित्दै गर्दा पनि देश हराउने अवस्था सिर्जना भयो । त्यसको अन्त्यका लाग हामी पहल गर्छौं ।’

‘दाङ भनेको प्रजातन्त्रको उर्वर भूमि हो । दाङको विकासका लागि खुमबहादुर खड्का, दीपक गिरी लगायतका नेताहरूले विकास निर्माणमा गरेका योदानहरूका बारेमा मलाई थाहा छ,’ नेता खतिवडाले भनेका छन् ।

कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री दीपक गिरीसहितका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2026 August 1, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया