देशका बिभिन्न क्षेत्रहरूमा पुनः देखा पर्न थाल्यो राजनीतिक हिंसा, सुरक्षालाई लिएर सर्वसाधारण चिन्तित
राजेन्द्र आचार्य
काठमाडौं । विभिन्न जिल्लाहरूको शहर र ग्रामीण भेगहरूमा राजनीतिक उद्देश्यबाट कुट्पिट, ज्यान मर्ने धम्की, जबरजस्ती चन्दा असुली तथा डर, त्रास फैलाउने गतिविधिका उजुरीहरू बढ्न थालेपछि सुरक्षा निकायले शान्ति सुरक्षाका लागि विशेष सतर्कता अपनाएको छ ।
गैरकानूनी गतिविधिहरूमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनसँग आबद्ध विप्लब समूहहरूको संलग्नता रहेको स्थानीय प्रहरीले जनाएको छ । विप्लव समूहले विशेष गरेर नेपाली कांग्रेसका नेता तथा कार्यकता र शुभेच्छुकहरूलाई आफ्नो निशाना बनाएका छन् ।
पछिल्लो समय नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता र कांग्रेस समर्थकहरु प्रति विप्लव माओवादीहरूले धम्की दिने, कुटपिट गर्ने, अपहरण गर्ने तथा केहीलाई सम्पर्कविहीन बनाउने घटना बढेको दाबी गरिएको छ ।
पोखरा , विराटनगर, काठमाडौं, धनगढी, डडेलधुरा, झापा, वीरगञ्ज, रुपन्देही लगायतका जिल्लामा कांग्रेसनिकट नेता–कार्यकर्तामाथि योजनाबद्ध रूपमा दबाब सिर्जना गर्ने र राजनीतिक गतिविधिबाट टाढा राख्ने प्रयास भइरहेको कार्यकर्ताहरूको आरोप छ ।
देशमा यस्ता गतिविधि का कारण अन्योल र सन्त्रास छाएको छ । शान्ति सम्झौता र राजनीतिक परिवर्तनपछि हिंसात्मक गतिविधि अन्त्य हुने अपेक्षा गरिएको भए पनि पछिल्लो समय ग्रामीण क्षेत्रमा विप्लव माओवादीहरूका कारण राजनीतिक हिंसाको वातावरण पुनः देखिन थालेको भन्दै चिन्ता व्यक्त गरिएको हो ।
कांग्रेसका स्थानीय कार्यकर्ताहरूले आफूहरूलाई राजनीतिक गतिविधिमा सक्रिय नहुन चेतावनी दिइएको, पार्टीका कार्यक्रमहरूमा सहभागी भए परिणाम भोग्नुपर्ने धम्की दिइएको र कतिपय स्थानमा घरमै पुगेर डर–त्रास सिर्जना गरिएको बताएका छन् । काठमाडौ नगरपालिका वडा नं. ४ बस्ने कांग्रेसका स्थानीय नेता भूमिराज थापाले विप्लव समूहको चन्दा आतंक, कुटपिट एबम ज्यान मार्ने घम्की लगायतका कृयाकलाप ले शान्ति सुरक्षामा चुनौति थपिएको बताए । उनले गाउँमा शान्तपूर्वक बस्न पनि समस्या भइरहेको र प्रहरी प्रशासनलाई यस विषयमा जानकारी गराइएको बताए । थापाले भने, ‘विप्लव समूहले दिने धम्कीका विषयमा प्रहरी प्रशासनलाई जानकारी गराएका छौँ । विप्लव समूहले थाहा पाउँछन् कि भन्ने तनाब पनि छ ।’
कैलाली, अछाम र डडेलधुराका केही स्थानीय कांग्रेस कार्यकर्ताले आफूहरूमाथि कुटपिट भएको र केही साथीहरूलाई जबर्जस्ती नियन्त्रणमा लिएर केही समयपछि मात्र छाडिएको बताएका छन् । कांग्रेसका नेता नरेन्द्र भट्टले विप्लवका कार्यकर्ताहरूको आतंक निकै बढेको गुनासो गरे । भट्टले भने, ‘केही बोल्ने र भन्ने अवस्था छैन । विप्लवका कार्यकर्ताहरू आएर लैजान्छन् । धम्की दिन्छन् । पैसा माग्छन् । हामीले कहाँबाट पैसा दिने ?’
विप्लव समूहले बिक्रम सम्बत २०७७ को फाल्गुन महिनामा नेपाल सरकार (केन्द्र सरकार)सँग शान्ति सम्झौता गरी हिंसात्मक गतिविधि त्याग्ने प्रतिबद्धता गरेको थियो । सम्झौता भए पनि विप्लव समूहका नेता तथा कार्यकर्ताहरूबाट अहिले पनि शान्ति सुरक्षामा चुनौति थपिएको सुरक्षा निकायको भनाइ छ । विप्लव समूहले कपिलवस्तुको शिवराज नगरपालिकामा व्यक्ति र सार्वजनिक जमीन गरी करीव २० बिघा जमीन कब्जा गरेर बसेका छन् । सोही स्थानमा विप्लव समूहले आफ्नो हेडक्वाटर पनि बनाएको छ । स्थानीय प्रहरी प्रशासनलाई मात्रै होइन गृह मन्त्रालयलाई समेत यो विषयको जानकारी छ । तर, विप्लव समूहको अराजक जत्थाले आफ्नो दब्दबा कायम राखेको छ ।
गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लाहरूबाट प्राप्त उजुरीहरूमा स्थानीय व्यवसायी, शिक्षक तथा सामुदायिक अगुवाहरूलाई हातले लेखिएका पत्रहरू पठाई आर्थिक सहयोग उपलब्ध गराउन दबाब दिइएको उल्लेख गरिएको छ । ती पत्रहरूमा सरकार समर्थक गतिविधिमा संलग्न नहुन तथा आफूहरूको निर्देशन पालना गर्न चेतावनी दिएको बताइएको छ ।
प्यूठान नगरपालिकाका व्यवसायी अरुण भण्डारीले रातिको समयमा केही अपरिचित व्यक्तिहरू आफ्नो घरमा आएर तथाकथित जनआन्दोलनका लागि आर्थिक सहयोग मागेको जनाएका छन् । भण्डारीले आर्थिक सहयोग गर्न अस्वीकार गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी सो समूहले दिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । व्यवसायी घण्डारीले घटनाका बारेमा प्रहरीलाई जानकारी दिए थप समस्या उत्पन्न गराइने धम्कीसमेत आएको छ ।
पोखरा महानगरपालिका लेक साइड निवासी कांग्रेस निकट समाजसेवी जयकृष्ण श्रेष्ठ आफूलाई केही मुख छोपेका व्यक्तिहरूले स्थानीय राजनीतिक गतिविधिका बारे सोधपुछ गरेको बताएकी छिन् । सो समूहले आफूलाई सामुदायिक विकास कार्यक्रममा संलग्न नहुन चेतावनी दिएको भन्दै श्रेष्ठले प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार यस्ता घटनाले समुदायमा त्रासको वातावरण सिर्जना भएको छ । विशेष गरी आगामी स्थानीय विकास योजना तथा सार्वजनिक भेलाहरू नजिकिँदे जाँदा नागरिकहरू खुला रूपमा सहभागी हुन हिच्किचाउन थालेको उनीहरूको भनाइ छ । विभिन्न नागरिक समाज संस्थाहरूले स्थानीय प्रशासनलाई प्रभावित क्षेत्रमा सुरक्षा गस्ती बढाउन, संवेदनशील व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्न तथा घटनाहरूको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन् ।
प्रहरीले सबै उजुरीहरूको अनुसन्धान जारी रहेको जानकारी दिदै प्रमाणबिना कुनै समूह वा व्यक्तिलाई दोषी ठहर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । कुनै पनि प्रकारको धम्की, जबरजस्ती वा आपराधिक गतिविधिमा संलग्न व्यक्ति कानूनको दायरामा ल्याइने सरकारको प्रतिबद्धता दोहोर्याएको छ ।
उता, मकवानपुर देवीघाट कांग्रेसका निर्माण व्यवसायी सुरेश लामाले प्रहरीमा दिएको उजुरीमा आफूलाई पटक पटक टेलिफोनमार्फत सम्पर्क गरी पाँच लाख रुपियाँ उपलब्ध गराउन माग गरिएको उल्लेख गरेका छन् । उनले रकम नदिए आफ्नो व्यवसाय र परिवारमाथि गम्भीर असर पर्ने चेतावनीसमेत दिएका छन् ।
पूर्वी तराई बिराट नगर क्षेत्रको हरिपुर बजारमा स्थानीय कृषि सहकारीका कांग्रेस समर्थक अध्यक्ष राजन केसीले आफूलाई अज्ञात समूहले निरन्तर पछ्याइरहेको र आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि परिवारलाई समेत लक्षित गरी धम्कीपूर्ण सन्देशहरू पठाइएको भन्दै सुरक्षा निकायसँग संरक्षणको माग गरेका छन् ।
दक्षिणी सीमावर्ती क्षेत्रको भैरवपुरमा कांग्रेसका पूर्व वडा सदस्य रामकिशोर यादवले आफ्ना राजनीतिक गतिविधिबारे जानकारी माग्दै केही व्यक्तिहरूले पटक पटक घरमा आएर सोधपुछ गरेको उजुरी प्रहरीमा दिएका छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार पछिल्ला घटनाहरूका कारण धेरै नागरिकहरू सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्न वा यस्ता घटनाबारे खुला रूपमा उजुरी दिन हिच्किचाउन थालेका छन् । विभिन्न नागरिक समाजका प्रतिनिधिहरूले सरकारलाई प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्थापन सुदृढ बनाउन, पीडितहरूको सुरक्षा सुनिश्चित गर्न तथा निष्पक्ष अनुसन्धानमार्फत सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।
सुरक्षा तथा द्वन्द्व व्यवस्थापनसम्बन्धी विशेषज्ञहरूले कुनै पनि आन्दोलनले औपचारिक रूपमा शान्तिपूर्ण राजनीतिक प्रक्रिया अवलम्बन गरे पनि त्यससँग सम्बन्धित असन्तुष्ट वा विभाजित समूहहरू स्वतन्त्र रूपमा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने सम्भावना रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग, नक्सालले जनाएको छ ।
पश्चिम क्षेत्रको शान्तिनगरमा कांग्रेस निकट उद्योगी विशाल चौधरीले कार्यालय परिसरमा धम्कीपूर्ण पत्र फेला परेको जानकारी दिएका छन् । धम्की र चन्दा आतंक कायम रहने हो भने उद्योग, व्यवसाय गरेर बस्न समस्या हुने चौधरीले बताएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया