बागमतीमा कांग्रेस आफैले सरकार बनाउन दलहरूसँग पत्राचार र सम्वाद गर्ने, बानियाँलाई जिम्मेवारी प्रदान

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सरकारलाई निरन्तरता प्रदान गर्न सहयोगका लागि बागमती प्रदेश सभामा रहेका सबै राजनीतिक दलहरूसँग लिखित पत्राचार गर्ने निर्णय गरेको छ ।

बिहीबार ललितपुरको जावलाखेलमा बसेको संसदीय दलको बैठकले कांग्रेसकै नेतृत्वमा बागमती प्रदेश सरकार बनाउने निर्णय गरेको हो । संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई नै सम्वादका लागि जिम्मेवारी दिइएको बताए ।

‘नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारलाई समर्थन गरी सरकारमा समेत सामेल रहेको पार्टी एमालेको बागमती प्रदेश सभा संसदीय दलबाट बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारमा सहभागी मन्त्रीहरूले समेत राजीनामा दिएको अवस्थामा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता प्रदान गर्न बागमती प्रदेश सभामा रहेका सबै राजनीतिक दलहरूसँग लिखित पत्राचार तथा मौखिक समन्वय गरी समर्थन प्राप्त गर्न केन्द्रीय नेतृत्वसँग समन्वय गरी कार्यान्वयन गर्ने गरी नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको तर्फबाट संसदीय दलका नेता माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई जिम्मेवारी प्रदान गर्ने सर्वसम्मत निर्णय गरियो,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

बागमती प्रदेशमा सरकार बनाउन कांग्रेसले आन्तरिक गृहकार्य गरिरहेको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारहरू गठन गर्ने सहमतिसँगै एमालेले दिएको समर्थन फिर्ता लिएपछि बागमतीमा मुख्यमन्त्री बानियाँले कांग्रेस नेतृत्वको सरकार बचाउने प्रयास गरेका छन् ।

Published : Thursday, 2026 July 30, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया