सरकारी इन्जिनियरको अकुत सम्पत्ति भेटिएपछि अख्तियारद्वारा पति र पत्नीविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
चौधरीको २ करोड २६ लाख १३ हजार १२३ रुपियाँ ३६ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेपछि अख्तियारले बुधबार आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
अख्तियारले इन्जिनियर चौधरी सेवामा प्रवेश गरेको मिति २०६५ पुस ११ गतेदेखि २०८२ असार २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी अध्ययन गरेको थियो ।
उक्त अवधिमा चौधरी र उनको परिवारको वैध आम्दानी २ करोड ७२ लाख ५५ हजार ७६६ रुपियाँ ६ पैसा मात्र देखिएको छ । यस वैध आयमा पारिश्रमिक, जग्गा बिक्री, श्रीमतीको तलब, बैंक कर्जा, घरबहाल आय, बैंक ब्याज, बुबाको पेन्सन र कृषि आयलगायतका स्रोतहरू समावेश थिए ।
सोही अवधिमा उनको कुल खर्च तथा लगानी भने ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपियाँ ४२ पैसा पुगेको भेटिएको छ । अनुसन्धानका क्रममा उनीहरूले जग्गा, घर, सवारी साधन, ट्याक्टर, सुन, फर्निचर र सेयर खरिदका साथै छोराछोरीको पढाइ, बिमा शुल्क र बैङ्किङ खर्चमा ठूलो रकम खर्च गरेको देखिएको छ ।
कुल वैध आय र व्ययको तुलना गर्दा आम्दानीभन्दा खर्च र लगानी २ करोड २६ लाख १३ हजार १२३ रुपियाँ ३६ पैसा बढी देखिएको छ । यो अस्वाभाविक र अमिल्दो रकम उनले सार्वजनिक पदमा छँदा गैरकानूनी रूपमा आर्जन गरेको अख्तियारको ठहर छ ।
गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति परिवारका सदस्यका नाममा समेत राखिएको भेटिएकाले अख्तियारले इन्जिनियर चौधरी र उनकी श्रीमती अर्पना कुमारी दुवैलाई प्रतिवादी बनाएको छ । उनीहरूमाथि बिगो असुल गरी कानूनबमोजिम कडा सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको जानकारी अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया