भारतले निःशुल्क दिएको एम्बुलेन्समा घोटाला गर्ने पूर्व वडाध्यक्षविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । धनुषाको विदेह नगरपालिका–५ का पूर्व वडाध्यक्ष विजयकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

यादवले भारत सरकारको सहयोगमा एक थान एम्बुलेन्स प्राप्त गरी सो एम्बुलेन्स वडा कार्यालयमा दाखिलासमेत नगरेको तथा एम्बुलेन्स सञ्चालन गरी सरकारी कोषमा दाखिला गर्नुपर्ने रकम दाखिला नगरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा यादवले भारतीय दूतावाससँग २०७७ असोज १४ गतेको सम्झौताबाट वडाबासीहरूलाई सेवा सुविधा उपलब्ध गराउन भनी निःशुल्क रूपमा एम्बुलेन्स प्राप्त गरेको खुलेको थियो ।

यादवले एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी विवरणमासमेत आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखेको पाइएको आयोगले जनाएको छ ।

एम्बुलेन्स सञ्चालनबाट प्राप्त आम्दानी र खर्चको हिसाबकिताब पालिकामा समेत दाखिला नगरेको पाइएपछि १५ लाख ९ हजार २५० रुपियाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2026 July 28, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया