कांग्रेस नेता गुरुङद्वारा कप्तानगञ्ज घटनाको निन्दा, दोषीलाई कारबाहीको माग, शान्ति सुरक्षा खलबलियो

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष विद्वान गुरुङले सुनसरी जिल्लामा एकजनाको मृत्यु हुने गरी भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै संयम हुन अपील गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गरेर नेता गुरुङले ओमप्रकाश मेहताको प्रहरीको गोली लागेर निधनको खबर अत्यन्तै निन्दनीय र दुःखद् रहेको बताएका छन् । उनले घटनाका दोषीलाई कारबाही गर्न तथा मृत्यु भएका आफन्तको परिवारजनलाई क्षतिपूर्ति र न्याय तथा घाइतेहरूको निःशुल्क उपचारको माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले कर्फ्यू लगाउनुपर्ने स्थितिको सिर्जना हुनु नेपाल सरकार र गृह प्रशासनको कमजोर प्रशासनिक क्षमता र नालायकीको पराकाष्ठा रहेको नेता गुरुङले बताएका छन् ।

‘आज राज्यबाटै एक युवालाई गोली हानेर मृत्युको शैय्यामा पु¥याउने जुन बर्बरता गृह प्रशासनले देखाएको छ, यसको म घोर भर्त्सना गर्दछु,’ कांग्रेस नेता गुरुङले भने ।

‘सुनसरी घटनामा घाइते सुरक्षाकर्मी र सर्वसाधारणसहित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले भने, ‘उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको निष्पक्ष र न्यायिक छानबिन गरियोस् भनी माग गर्दछु ।’

‘सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

आइतबार राति सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा बोलबममा हिँडेका युवाहरूले डीजे बजाएको घटनामा दुई धार्मिक समूहबीच झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज गाउँपालिका वडा नं. ३ निवासी २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।

Published : Monday, 2026 July 27, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया