एमबीएसको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा सीआईबीद्वारा २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको जनाएको छ । सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका छन् ।

सीआईबीले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

पक्राउ गरेका व्यक्तिले सामाजिक सञ्जालमार्फत एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलेको छ । ‘एमबीएस फस्र्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको ५ मिनेटमै पठाइएको खुलेको प्रहरीले जनाएको छ ।

साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमा सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो ।

सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थियो । उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो ।

प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्यूरोलाई पत्राचार गरेको थियो ।

परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि छानबिन समितिसमेत गठन गरेको छ । प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने परीक्षा सञ्चालक समितिले निर्णय गरेको हो ।

अनुगमन निर्देशनालयका उपनिर्देशक सह प्रा.डा.पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सह–प्राध्यापक डा महेशराज ओझालाई सदस्यको तोकिएको छ । समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

Published : Sunday, 2026 July 26, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया