कांग्रेसको १५औँ महाधिवेशन गर्ने हो भने पहिले एउटा न्युट्रल समिति गठन गरौं : डा.शशांक कोइराला

पोखरा । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले सर्वोच्च अदालतले कांग्रेस फुटाएको बताएका छन् ।

शनिाबर पोखरामा शेरबहादुर देउवा पक्षीय नेताहरूले आयोजना गरेको ‘नेपाली कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा’ बिषयक बिचार गोष्ठी एवम् गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै डा.कोइरालाले सर्वोच्चले कांग्रेस फुटाएको बताउँदै अब पार्टी एकता गरेर जानु अपरिहार्य रहेको बताए ।

‘गगन थापाजीको ग्रुप थिएन, तैपनि फुट्यो । यो आश्चर्यजनक कुरा हो,’ डा.कोइरालाले भने, ‘किन फुट्यो भन्दाखेरी यो सर्वोच्च अदालतले फुटायो ।’

‘म वीपी कोइरालाको पुत्र, वीपी कोइरालाले बनाएको पार्टी, कत्रो पीडा होला म मा,’ नेता डा.कोइरालाले भने, ‘यो यस्तो राम्रो, यत्रो सुन्दर पार्टी, यत्रो राम्रो विचार भएको, आज विभाजन भयो र चुनावमा हामीले परिणाम पनि भोग्यौं ।’

नेता डा.कोइरालाले अब पार्टीलाई कसरी एक गर्ने भन्ने चिन्ता आफूलाई रहेको बताए । उनले आफूलाई केही नचाहिएको भन्दै कांग्रेस एकताका लागि पहल गर्न आफू तयार रहेको बताए ।

‘धेरैजसो व्यक्तिले भने तर, स्पष्टताका साथ भनेनन् । कि हामीले वार्ता गर्नुपर्ने गगन जीसँग । त्यो पनि एउटा बाटो हो,’ उनले भने ।

डा.कोइरालाले कसैले १५औँ महाधिवेशन एकताको गर्ने प्रस्ताव गरेको पनि बताए । उनले भने, ‘हो, १५औँ महाधिवेशन गर्ने हो भने पहिले एउटा न्युट्रल समिति गठन गर्नुपर्‍यो ।’

त्यसका लागि दुई वटै पक्षको मुख्य मान्छे राखेर १५औँ महाधिवेशन गर्ने अर्को बाटो रहेको उनले बताए । यस्ता बाटा रहेपनि कुन बाटो उपयुक्त हो त्यो सोच्नुपर्ने बेला रहेको नेता डा.कोइरालाले बताए ।

‘पार्टी एकता गर्न के गर्नुपर्छ राय सुझाव आओस्, म त्यसमा सहभागी हुन चाहन्छु । मलाई केही चाहिन्न हेर्नुस् । पार्टी एक गर्नुपर्छ,’ नेता डा.कोइरालाले भने ।

कार्यक्रममा नेताहरू मोहनबहादुर बस्नेत, किरण पौडेलसहितका नेता तथा कार्यकर्ताहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

Published : Saturday, 2026 May 23, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया