विदेशी महिलालाई गर्भवती बनाउने रास्वपाका सांसदबारे संसदमा उठ्यो कुरा, महिलाको बिचल्ली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा तीन जना महिला सांसदले रास्वपाका सांसद कार्कीविरुद्ध प्रश्न उठाएका हुन् । नेपाली कांग्रेस, एमाले र नेकपाका सांसदहरुले रास्वपाका सांसद कार्कीमाथि प्रश्न उठाएका छन् । मोरङ–२ बाट निर्वाचित रास्वपाका सांसद कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा गम्भीर प्रश्न उठाएपछि रास्वपालाई तनाब भएको छ ।

कांग्रेस सांसद निनुकुमारी कर्णले एक विदेशी महिला सांसदबाट गर्भवती भएकी र अहिले न्याय खोजिरहेको भन्दै प्रश्न गरिन् । ‘एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा र सम्बन्धित सांसद सम्पर्कविहीन भएको भन्दै सडकमा न्याय खोजिरहेकी छिन् । एउटा विदेशी नागरिक महिलालाई प्रेमजालमा फसाउने, भावनात्मक ब्ल्याकमेल र जालझेलमा फसाएर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ?,’ सांसद कर्णले प्रश्न गरिन् ।

सांसद पदमा भए पनि कानून समान रहेको एमाले सांसद साजिदा खातुन सिद्धिकीको भनाइ थियो । उनले सांसद कार्की नामै लिएर उक्त विषयमा छानबिन गर्नका लागि सभामुखसँग माग गरेकी थिइन् । ‘अहिले व्यापक समाचार आइरहेको छ मोरङ क्षेत्र नम्बर २ का माननीय सदस्य कृष्ण कार्कीले नाइजेरियाकी २६ वर्षीया युवती रीता आजुकोलाई गर्भवती बनाएर अलपत्र बनाएको भन्ने । यसले सिंगो सदनलाई लज्जित बनाएको छ । यो राष्ट्रिय मात्रै, होइन अन्तर्राष्ट्रिय समाचार पनि आइसकेको छ,’ उक्त घटनाले सबै सांसदको आलोचना भइरहेको उल्लेख गर्दै सिद्धिकीको माग थियो, ‘एउटा सांसदका कारणले हामी सबै जवाफदेहितामा उभिएका छौं । यसको छिटोभन्दा छिटो के हो पत्ता लगाइयोस् ।’

नेकपाकी सांसद पार्वती विकले विदेशी महिलालाई गर्भवती बनाएर सत्तारुढ दलका सांसद बेपत्ता भएको दाबी गरिन् । प्रतिनिधिसभा बैठकमा उनले यस्ता घटनाले नेपालप्रति अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश नजाने धारणा राखिन् ।

‘एकजना सत्तापक्षका सांसद एक जना नाइजेरियन महिलालाई गर्भवती बनाएर माननीयजी बेपत्ता भएको सामाजिक संजालमा यत्रतत्र सर्वत्र छ । यो कुराले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालीलाई बुझ्ने तरिका के हो ? हाम्रो राष्ट्रियताको विषय विदेशीहरूले हाम्रो देशलाई कसरी हेर्छन् र हामीलाई कसरी बुझ्छन् भन्ने धकुरा मैले बुझिराखेको छु,’ सांसद विकले भनिन्, ‘यथार्थ घटना के हो ? यो सदन स्पष्ट हुन चाहन्छ । हावाका भरमा कुरा गरिएको हो भने पनि हाम्रो राष्ट्रियताका लागि त्यो कुरा सैह्य हुँदैन, यदी यथार्थ हो भने सम्बन्धित माननीयलाई सिधैं कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

प्रतिनिधिसभा नियमावलीको नियम २२० मा आचरण अनुगमन समितिको व्यवस्था छ । जसमा प्रतिनिधिसभामा एक आचरण अनुगमन समिति रहने व्यवस्था गरिएको छ । यो समितिको सभापति सभामुख र उपसभापति उपसभामुख हुने व्यवस्था छ । विपक्षी दलको नेतासँगै कार्यव्यवस्था परामर्श समितिको परामर्शमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा सभामुखद्वारा मनोनीत बढीमा १२ जना सदस्य रहने नियमावलीको व्यवस्था छ । संघीय संसद्का महासचिवले यो समितिको सचिव भई काम गर्ने व्यवस्था छ ।

Published : Tuesday, 2026 May 19, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया