बालेन सरकारविरुद्ध भूमिहीन, सुकुम्वासीको शक्तिशाली प्रदर्शन

बुटवल । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आफूहरू रहेको स्थानमै तत्काल लालपुर्जाको ग्यारेन्टी गर्न माग गरेर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

आइतबार बुटवलमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले झण्डै दुईतिहाइको सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उनीहरुले जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द गर्न माग गरेका छन् । डोजर लगाउने कार्य बन्द नगरिए सरकारको दिनगन्ती शुरु हुने चेतावनी उनीहरुले दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारको ध्यान महँगी नियन्त्रण र सीमारक्षातर्फ नभई गरिबका घरटहरा भत्काउनेमा केन्द्रित भएको उनीहरूले आरोप लगाएका छन् ।

दैनिक १५ सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा जान बाध्य भएका र बाकसमा लास फर्कने क्रम नरोकिएको उनीहरूले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरूले सरकार जनसरोकारका मुद्दामा अनुदार बनेको बताए ।

आफ्ना माग प्रस्तुत गर्दै प्रदर्शनकारीले ७० हजार हेक्टरभन्दा बढी नेपाली भूमि हडपिँदा सरकार मौन बसेको बताएका छन् । आफ्नै नागरिकमाथि डोजर आतंक सिर्जना गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

उनीहरूले राष्ट्रियस्तरको आन्दोलनको तयारीस्वरूप सातबुँदे मागपत्र समेत अघि सारेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई उनीहरू हाल बसिरहेकै स्थानमा लालपुर्जाको व्यवस्था गरिनुपर्ने, बसोबासयोग्य जमिनका निम्ति १० र कृषियोग्यलाई ५ प्रतिशत मात्र करको दायरा कायम गरी जग्गा धनीपुर्जा वितरण गरिनुपर्ने, भूमिहीन दलितहरूका लागि निःशुल्क लालपुर्जाको ग्यारेन्टी गरिनुपर्ने, विकासका नाममा जनतालाई विस्थापित गर्दा उचित क्षतिपूर्ति र सोही स्थानीय तहभित्र सुविधासम्पन्न स्थानमा पुनस्र्थापना गरिनुपर्ने उनीहरूको माग छ ।

लोकप्रियतवादका नाममा कानूनविपरीत नागरिकलाई दुःख दिने काम भए इतिहासमा हिटलर र सिक्किमका लेन्डुप दोर्जेको जस्तै पतन हुने उनीहरूको चेतावनी छ ।

तिनाउ–दानव कोरिडोरलगायत आयोजनाका नाममा जनतालाई अन्यत्र सार्ने प्रयास भइरहेको भन्दै उनीहरूले रोजगारी र स्वास्थ्यको ग्यारेन्टी नभएको स्थानमा होल्डिङ सेन्टरजस्तो गरी बस्न नसकिने स्पष्ट पारेका छन् ।

आफूहरूलाई अपराधीजस्तो व्यवहार नगर्न आग्रह गर्दै प्रदर्शनकारीहरूले माग सम्बोधन नभए देशभरि सशक्त आन्दोलन गर्ने जनाएका छन् ।

रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बने लगत्तै भूमिहीन, सुकुम्वासीहरुको घर, टहरामा डोजर चलाएर भत्काउने कार्य भइरहेका छन् । सो कार्यको विरोध भइरहेको छ ।

Published : Sunday, 2026 May 17, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया