राज्य संयन्त्र प्रतिशोध साँध्ने माध्यम बन्न थाल्यो : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र विधिको शासनविपरीत उन्मुख भएको बताएका छन् ।

आइतबार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको लोकतन्त्रमा विधिको शासन विषयक विमर्शमा महरले सरकारद्वारा गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यादेश नै पूर्वाग्रही र चयनात्मक प्रकृतिको देखिएको बताए ।

आयोगलाई निष्पक्ष अनुसन्धानको माध्यमभन्दा पनि सरकारसँग असहमति राख्न सक्ने व्यक्ति, राजनीतिक शक्ति वा आलोचकलाई लक्षित गर्दै ठेगान लगाउने उपकरणका रूपमा प्रयोग गर्न खोजिएको उनले बताए ।

‘लोकतन्त्रमा कानून कसैको पक्ष वा विपक्षमा उभिनु हुँदैन । राज्य संयन्त्र प्रतिशोध साँध्ने माध्यम बन्न थाल्यो भने त्यो विधिको शासन होइन, व्यक्तिको शासनतर्फको खतरनाक संकेत हो,’ उनले भने ।

नेता महरले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताका नाममा गरिने हरेक कदम निष्पक्ष, विश्वसनीय र समान हुनुपर्ने उल्लेख गरेका छन् । सम्पत्ति छानबिनको दायरा सत्ता, प्रतिपक्ष, कर्मचारीतन्त्र तथा सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिमा समान रूपमा लागू हुनुपर्ने उनले बताए ।

‘लोकतन्त्रमा कसैलाई बचाउने र कसैलाई मात्रै निशाना बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन । कानूनको समान प्रयोग नै लोकतन्त्रको आधार हो,’ उनले भने, ‘यदि राज्यका निर्णयहरू आग्रह, पूर्वाग्रह र राजनीतिक प्रतिशोधबाट निर्देशित हुन्छन् भने त्यसले लोकतन्त्रप्रति जनविश्वास कमजोर बनाउँछ ।’

Published : Sunday, 2026 May 17, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया