गगनको घमण्ड भत्काउन कांग्रेसका युवा नेताहरुको भेला, क्रियाशील सदस्यता नवीकरण नगर्न अपील

काठमाडौं । कथित विशेष महाधिवेशनबाट आएको नेपाली कांग्रेसको नेतृत्वले नवीकरण भइसकेको क्रियाशील सदस्यतालाई अध्यावधिको नाममा विधान र विधि विपरीतका कार्य गरेपछि शेरबहादुर देउवा पक्षीय युवा नेताहरुले क्रियाशील सदस्यता अध्यावधि नगर्न अपील गरेका छन् ।

शनिबार काठमाडौंमा बसेको युवा नेताहरुको भेलाले अध्यावधिका नाममा क्रियाशील सदस्यता लिएका नेता तथा कार्यकर्ताहरुलाई कांग्रेसबाट हटाउन खोजेको आरोप लगाएका छन् । उनीहरुले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा अध्यावधि आवश्यक नरहेको बताए ।

भेलाको निर्णयमा भनिएको छ, ‘१५औँ महाविशेधनको लागि पार्टी विधानअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी वैधानिक रुपले क्रियाशील सदस्यहरूले सदस्यता नवीकरण गरिसकेको हुनाले क्रियाशील सदस्यहरूलाई अधावधिकको नाममा पार्टी विधान विपरीत पुनः सदस्यता नवीकरण गर्न दबाब दिने, धम्क्याउने, तर्साउनेलगायतका कार्यहरू वदनियतपूर्ण देखिएकोले देशैभरीको क्रियाशील सदस्यलाई सदस्यता अधावधिक नगर्न आह्वान गर्ने ।’

युवा नेताहरुले गगन थापाको अहँकार र घमण्ड भत्काउन तथा कांग्रेसको एकताका लागि विधान विपरीतको क्रियाशील सदस्यता नवीकरण गर्न नहुने निष्कर्ष निकालेका हुन् ।

भृकुटीमण्डपको भेला अर्थात् कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर सभापति बनेका गगन थापाले नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललगायतका भ्रातृ संस्था विघटन गरेकोमा पनि देउवा पक्षीय युवा नेताहरुले विरोध जनाएका छन् । थापाका हर्कत र गतिविधिले कांग्रेस पार्टीको एकतामा आघात पुगेको युवा नेताहरुले बताएका छन् ।

युवा भेलाले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको नेपाल तरुण दलका पूर्व उपाध्यक्ष उत्तम चापागाईंले बताएका छन् । ‘केन्द्रीय समितिले पार्टीको विद्यानविपरीत समेत हुने गरी पार्टी एकता विरुद्ध विभिन्न गतिविधि गरेको तथा पार्टीका जिम्मेवार र ईमानदार नेता कार्यकर्ताहरूलाई अनुशासनको नाममा अनुचित कारबाही गरेको हुनाले सो गतिवधिहरू रोक्न तथा पार्टीको वृहतर एकताका लागि देशव्यापि जागरण अभियान सञ्चालन गर्ने,’ भेलाको निर्णयमा भनिएको छ ।

युवाहरुको भेलाका वक्ताहरुले कथित विशेष महाधिवेशनबाट आएको नेतृत्वले आफ्ना विरोधीहरुलाई अनुशासनको नाममा कारबाही गरेको भन्दै विरोध गरेका छन् । उनीहरुले १४औँ महाधिवेशनबाट आएको कार्यसमिति र कथित विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मिलाएर १५औँ महाधिवेशन आयोजक समिति बनाउन पनि माग गरेका छन् ।

युवा नेताहरुले गगन थापाले शेरबहादुर देउवा पक्षीय नेताहरुलाई कांग्रेसबाट बाहिर बनाउन खोजेको आरोप पनि लगाएका छन् । सोही कारण सहमतिको प्रस्ताव वा मोडलबारे अहिलेसम्म बाहिर कुरा नआएको युवा नेताहरुले बताए ।

Published : Saturday, 2026 May 16, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया