देउवा दम्पत्तिमाथि भएको आक्रमण र चुनावमा टिकट नदिने कुरा स्वभाविक होइन : मुख्यमन्त्री शाह
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तत्कालीन सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वसँग प्रश्न गरेका छन् ।
शनिबार कैलालीको धनगढीमा आयोजित कांग्रेसको कार्यक्रममा शाहले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएको लगायतका विषयमा प्रश्न गरेका छन् ।
शाहले भने, ‘भदौ २३ र २४ गतेको शेरबहदुर देउवा र आरजु राणामाथि भएको आक्रमण स्वभाविक हो कि अस्वभाविक हुन् ? शेरबहादुर देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक ? त्यो भन्नुपर्छ । अब देउवाको स्थान के हुने ?’
कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश सरकार परिवर्तनको बहस र पार्टी एकताबद्धताको विषय उठाउँदै शाहले वर्तमान नेतृत्वलाई सचेत भएर अघि बढ्न आग्रह गरेका छन् ।
‘आज शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ? अब उहाँको स्थान कहाँ हुन्छ ?’ उनले प्रश्न गरेका छन् । मुख्यमन्त्री शाहले पार्टीभित्र नेतृत्वको सम्मान र योगदानको मूल्यांकन हुनुपर्ने बताए ।
मुख्यमन्त्री शाहले धनगढीमा सभापति थापा आउँदा कार्यक्रमभन्दा सरकार परिवर्तनको चर्चा बढी भएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका छन् ।
सभापतिले समानुपातिक सांसदलाई फिर्ता बोलाएर भए पनि सरकार परिवर्तनको विषय उठाएकोप्रति मुख्यमन्त्री शाहले आपत्ति व्यक्त गरेका छन् ।
शाहले कांग्रेस र पार्टी सभापतिलाई कमजोर बनाउने गतिविधिबाट सावधान रहन आग्रह गर्दै आफू मुख्यमन्त्री पद जोगाउन नभई पार्टी एकताका लागि कार्यक्रममा आएको बताएका छन् ।
शाहले भने, ‘म मुख्यमन्त्री पद जोगाउन विमानस्थल गएको होइन, यो मञ्चमा आएको पनि होइन । सिंगो कांग्रेस एक होस् भन्ने मनसायका साथ यहाँ उपस्थित भएको हुँ ।’
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया