गगनलाई सभापति मान्न समस्या छैन, तपाईको कार्यसमितिमा भाइरसहरू छन् हटाउनुस् : मुख्यमन्त्री शाह

धनगढी । नेपाली कांग्रेसका नेता समेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिमा भाइरसहरू रहेको भन्दै ती भाइरसहरूलाई समाप्त पार्न सुझाव दिएका छन् ।

शनिबार धनगढीमा नेपाली कांग्रेसको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति नभएको बताए ।

कार्यक्रमको मञ्चमा रहेका गगनलाई प्रश्न गर्दै शाहले भाइरसहरूका कारण कांग्रेसको एकतामा समस्या र बाधा उत्पन्न भएको बताए ।

मुख्यमन्त्री शाहले सिंगो कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी पनि सभापति गगनकुमार थापाकै काँधमा रहेको बताए ।

उनले भने, ‘अबको १० बर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ तर, तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन् तिनले तपाईंलाई समाप्त पार्नसक्छन् ?’

मुख्यमन्त्री शाहले सिंगो नेपाली कांग्रेसलाई एक बनाएर अघि बढ्न सुझाव पनि दिएका छन् ।

Published : Saturday, 2026 May 9, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया