चाक्सीबारीमा देउवा पक्षीय नेताहरूको बैठक, कांग्रेस बलियो बनाउन ३० गते काठमाडौंमा बृहत भेला
काठमाडौं । शेरबहादुर देउवा पक्षका नेताहरूले वैशाख ३० गते काठमाडौंमा बृहत भेलाको कार्यक्रम राखेका छन् ।
बुधबार काठमाडौंको चाक्सीबारी, ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको देउवा पक्षीय नेताहरूको बैठकले वैशाख ३० गते बागमती प्रदेशस्तरीय बृहत भेला आयोजना गर्ने निर्णय भएको हो । भेला बबरमहलस्थित कार्की ब्याङ्केटमा वैशाख ३० गते बिहान ११ बजे हुने कार्यक्रम छ ।
नेता सिंहद्वारा आह्वान गरिएको बैठकमा भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट आएको नेतृत्वको चिल्ला र फुस्रा कुराको पछाडि नलागेर नेपाली कांग्रेसको एकताका लागि प्रदेश, जिल्ला र राष्ट्रिय भेलासम्म जाने सहमति भएको छ । पार्टी एकता चाहने हो भने १४ र कथित विशेष महाधिवेशन दुबै पक्षलाई मिलाएर १५औँ महाधिवेशनको आयोजक समिति बनाउनुपर्ने चाक्साबारी भेलाको निष्कर्ष रहेको एक नेताले बताए ।
भेलामा बागमती प्रदेशका अगुवा नेता तथा कार्यकर्ताहरूलाई बोलाइएको छ । भेलाले दिने सल्लाह र सुझावअनुसार अगाडि बढ्ने नेताहरूले बताएका छन् ।
देउवा पक्षका नेताहरूले सात प्रदेशमा बृहत भेलाको कार्यक्रम गर्ने यसअघि धुम्बाराही बैठकबाट निर्णय भएको थियो । सात प्रदेशको भेलापछि जिल्ला जिल्लामा देउवा पक्षका नेताहरूको भेला हुनेछ । त्यसपछि काठमाडौंमा बृहत राष्ट्रिय भेलाको तयारी भएको छ ।
बैठकमा नेता सिंहका साथै मोहनबहादुर बस्नेत, डा.प्रकाशशरण महत, जीतजंग बस्नेत, अम्बिका बस्नेत, भीमसेनदास प्रधान, दुर्लभ थापा, पूर्णबहादुर तामाङ (कान्छाराम), विनोद कायस्थ लगायत करीव १ सय नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया