क्रियाशील सदस्यता नवीकरण भइसकेको छ, अध्यावधि गर्दैन : कांग्रेस नेता हुमागाईं

काठमाडौं । नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले पार्टीको १५औं महाधिवेशनका लागि भनेर नवीकरण भइसकेकाले आफूले अध्यावधि नगर्ने र त्यो आवश्यक नरहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत नेता हुमागाईंले क्रियाशील सदस्यता अध्यावधि गर्ने कुराले पार्टीमा थप विभाजन र विचलन ल्याउने बताए । उनले देशभरिका क्रियाशील सदस्यहरूले १५औं महाधिवेशनका लागि आफ्नो सदस्यता नवीकरण गराइसकेको बताए ।

सदस्यता नवीकरण गराइसकेपछि फेरि अध्यावधिका नाममा क्रियाशील सदस्यहरूलाई दुःख दिन नहुने बताए ।

नेता हुमागईंले भने, ‘नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण एवं नयाँ सदस्यता वितरण गर्ने कार्य निर्वाचन अगाडि नै सम्पन्न भइसकेकाले पुनः अध्यावधिक गर्ने अभियानबाट पार्टीमा थप विभाजन र विचलन ल्याउने साथै पार्टी थप कमजोर हुने मेरो निष्कर्ष रहेको छ ।’

‘तसर्थ म मेरो क्रियाशील सदस्यता पुनः अध्यावधिक नगर्ने निर्णय लिएको छु,’ नेता हुमागाईंले भनेका छन् । नेता हुमागाईंले जस्तै देशभरिबाट नेपाली कांग्रेसका नेता र क्रियाशील सदस्यहरूले आफ्नो सदस्यता नवीकरण भइसकेकाले अध्यावधि नगर्ने बताइरहेका छन् ।

Published : Sunday, 2026 May 3, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया