सुशीला सरकारले नियुक्त गरेका दीपकद्वारा आफू बस्ने घरमा वास्तु मिलाउन लुम्बिनीको लाखौँ रुपियाँ खर्च
काठमाडौं । सुशीला कार्की सरकारले नियुक्त गरेका लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले पदको दुरुपयोग गरेर करीव लाखौं रुपियाँ खर्च गरेर वास्तु मर्मत गरेको भन्दै कर्मचारीहरू रुष्ट बनेका छन् ।
सदस्य सचिव श्रेष्ठले पदभार ग्रहण गरेसँगै आफू बस्ने सरकारी निवासलाई वास्तुशास्त्र मिलाउने बहानामा करीव ७ लाख रुपियाँ निकासा गराएर खर्च गरिसकेका छन् । श्रेष्ठले आफैले पनि वास्तुशास्त्र मिलाउन ७ लाखको आसपासमा खर्च भएको स्वीकार गरेका छन् । सदस्य सचिवका लागि बनाइएको भवन नयाँ नै छ । अन्य पदाधिकारीहरू पनि त्यस्तै निवासमा बस्दै आएका छन् ।
एक कर्मचारीका अनुसार सदस्य सचिव श्रेष्ठको निवासमा वास्तु मिलाउने बहानामा ५० लाख माग भएको थियो । त्यसमा २० लाख खर्च भएको र बाँकी ३० लाख खर्च हुने प्रक्रियामा रहेको ती कर्मचारीको दाबी छ ।
सदस्य सचिव श्रेष्ठले भने आफ्नो निवासमा वास्तुशास्त्र मिलाउन ७ लाखको आसपासमा खर्च भएको स्वीकार गरे । तर, समाचारमा भनिए जस्तो ५० लाख खर्च नभएको श्रेष्ठले दाबी गरेका छन् ।
सदस्य सचिव श्रेष्ठले आफूविरुद्ध सञ्चारमाध्यममा दिइएका सूचनाहरू झुठ्ठा रहेको दाबी गरे । उनले लुम्बिनीमा आएर सबै कुराको जानकारी लिन पत्रकारहरूलाई आग्रह गरेका छन् ।
तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार रहेका बेला श्रेष्ठले लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा नियुक्ति पाएका थिए । सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठसँग निकै नजिक मानिने दीपक श्रेष्ठ आउनेवित्तिकै कोषभित्र खैलाबैला मच्चाएका छन् । वास्तुशास्त्र मिलाउने बहानामा लाखौँ रुपियाँ कोषको झ्वाम पारेपछि दीपक श्रेष्ठको गतिविधिमाथि कोषका कर्मचारीहरू सर्तक बनेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया