विकल र एलिनाविरुद्ध ६२ करोड ६५ को मनी लाउन्डरिङको मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) प्रकरणमा विकल पौडेल दम्पतीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

पर्वत जिल्लाको साविक कटुवाचौपारी–४ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–९ बूढानीलकण्ठ बस्दै आएका ४३ वर्षीय पौडेल र उनकी श्रीमती एलिना बस्नेतले अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको पाइएपछि उनीहरूमाथि कारबाही अघि बढाइएको विभागले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । विभागले उनीहरूविरुद्ध बुधबार मुद्दा दायर गरेको जनाएको छ ।

अनुसन्धानका क्रममा विदेशी विनिमय अपचलनतर्फ उनीहरूबाट ६२ करोड ६५ लाख ९१ हजार ८९३ रूपियाँ बराबरको बिगो कायम गरी यसअघि नै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार २०८१ असोज १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

थप अनुसन्धानमा उनीहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार गैरकानूनी रूपमा आर्जित सम्पत्ति लुकाउने तथा प्रयोग गर्ने कार्य गरेको पुष्टि भएको विभागले जनाएको छ ।

यसअनुसार विकल पौडेललाई ६१ करोड १३ लाख २१ हजार १५३ रूपियाँ २० पैसा र एलिना बस्नेतलाई ७ करोड ८१ लाख ४४ हजार ५१ रूपियाँ ५० पैसा गरी कूल ६८ करोड ९४ लाख ६५ हजार २०४ रूपियाँ ७० पैसा बराबरको बिगो कायम गरिएको छ ।

विभागले उक्त बिगो बराबरको रकममा दोब्बर जरिवाना, कसुरअनुसार कैद सजाय तथा अवैध रूपमा आर्जित सम्पत्ति जफतको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा चलाइसकेको छ । पौडेलविरुद्ध अख्तियारले सुक्ष्म ढंगले अनुसन्धान गरेको थियो ।

Published : Wednesday, 2026 April 29, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया