गौरीटार रङ्गशालालाई गौरवको आयोजनाका रुपमा अगाडि बढाउँछौं : मुख्यमन्त्री बानियाँ

गौरीटार । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको गौरीटार रङ्गशालालाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाउने बताएका छन् ।

शुक्रबार गौरीटारमा ‘बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव हेटौँडा २०८२’ को उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले गौरीटार रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुनेगरी प्रदेशको गौरवका आयोजनाका रूपमा अघि बढाउने बताए ।

‘हाम्रो गौरीटार रङ्गशाला छ, त्यहाँ थोरै बजेट खर्च गरेर केही काम पनि भएको छ,’ मुख्यमन्त्री बानियाँले भने, ‘अब त्यहाँ प्रदेश सरकारले एक अर्ब बढी बजेट लगानी गरेर अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने स्तरीय संरचना निर्माण गर्नेछ ।’

सो स्थानमा खेलकुद मैदान, स्वीमिङ पुल, ब्याडमिन्टन, क्रिकेट, बास्केटबल, फुटबललगायत सबै किसिमका खेलकुद प्रतियोगिता गर्न सकिने किसिमको संरचना निर्माण गरिने उनले बताएका छन् ।

गौरीटार रङ्गशालामा आगामी एक महिनाभित्र बागमती प्रदेशस्तरीय खेल महोत्सव आयोजन गर्न लागिएको जानकारी दिँदै मुख्यमन्त्री बानियाँले बागमती खेलकुद विकास परिषदले आयोजना गर्न लागेको खेल महोत्सवलाई सफल बनाउन जिल्ला खेलकुद विकास समितिलगायत सरोकारवालाले सहयोग गर्नुपर्ने बताए ।

खेलाडीहरू समाज र राष्ट्रका पहिचान भएकाले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारसँग समन्वय, सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै बानियाँले खेलकुद क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।

कृषि, पर्यटन क्षेत्रको विकास गरी प्रदेशका जनताको आयस्रोत वृद्धि गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै मुख्यमन्त्री बानियाँले प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रहरूको संरक्षण, संवर्द्धन गरी पर्यटक क्षेत्रको विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको उल्लेख गरे ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिका–१० स्थित टिसीएनचौरमा शुक्रबारदेखि शुरु भएको महोत्सव चैत १४ गतेसम्म सञ्चालन हुनेछ ।

Published : Friday, 2026 March 13, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया