असईमा बढुवा हुन भारतबाट शैक्षिक प्रमाणपत्र खरिद, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) मुक्तनारायण श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असई श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौंमा अभियोगपत्र दायर गरेको जनाएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीको सञ्चार शाखामा कार्यरत श्रेष्ठले असई पदमा बढुवा हुनका लागि भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट सन् १९९९ मा जारी भएको भनिएको नक्कली मार्कसिट र माइग्रेसन सर्टिफिकेट पेस गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

झुट्टा तथा नक्कली प्रमाणपत्रका आधारमा बढुवा भई नेपाल सरकारबाट तलब, भत्ता र अन्य सुविधा लिएको पुष्टि भएपछि आयोगले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कैद र जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2026 March 10, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया