आईजीपी कार्कीद्वारा निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन भूमिका खेल्ने सम्पूर्ण प्रहरी कर्मचारीको प्रशंसा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीद्वारा निर्वाह गरिएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख, प्रहरी अधिकृत तथा जवानहरूका लागि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा कार्कीले निर्वाचनका समयमा प्रहरीले निर्वाह गरेको भूमिकाले प्रहरी संगठनको समग्र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताए ।

सीमित साधनस्रोत, भौतिक पूर्वाधारको अभाव, पछिल्लो समय प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका अभिव्यक्तिलगायत कारणका बाबजुद पनि निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले उच्च मनोबल, सामूहिक भावना र जिम्मेवारीबोधका साथ प्रदर्शन गरेकाले यसको व्यावसायिकता प्रशंसनीय रहेको उनले बताए ।

प्रहरीको अथक सक्रियता र क्रियाशीलताका कारण समाजमा शान्तिसुरक्षा कायम राख्न सम्भव भएको आईजीपी कार्कीले बताए । उनले आ–आफ्नो जिम्मेवारीअनुसार योजनाबद्ध रूपमा कार्यसम्पादन गरेकामा सबै प्रहरी कर्मचारीको उच्च प्रशंसा गरेका छन् ।

आगामी दिनमा सबैको सहकार्य र समन्वयबाट सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्ने उनले बताएका छन् ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेसा मात्र नभई सेवा पनि भएको बताउँदै यसका लागि सेवाभाव, इमानदारीता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता, दृढ अनुशासन आवश्यक रहेको बताएका छन् ।

आगामी दिनमा पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक लक्ष्यप्रति सदैव केन्द्रीत भई सामूहिक भावना तथा भ्रातृत्वभावका साथ प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्नुपर्ने उनले बताएका छन् ।

Published : Tuesday, 2026 March 10, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया