देउखुरीका कांग्रेस नेता बाशुदेवले लिए राष्ट्रिय सभा सांसद पदको शपथ

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रिय सभाका सदस्य (सांसद) बाशुदेव घिमिरे (जंगली)ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा कांग्रेसका सांसद बाशुदेवले राष्ट्रिय सभा सदस्य (सांसद) पदको शपथ लिएका हुन् । बाशुदेवलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराएका छन् ।

दाङको देउखुरीस्थित लमही नगरपालिका– २, सुनडबरी निवासी बाशुदेव कांग्रेसका निकै संघर्ष गरेका र इमान्दार नेतामा पर्छन् । उनी पहिलो पटक राष्ट्रिय सभाको सांसद बनेका छन् ।

नेपाल तरुण दल हुँदै कांग्रेसको राजनीति गर्न आइपुगेका बाशुदेवले उत्पादन गरेका हजारौं तरुणहरू राजनीतिमा सक्रिय छन् ।

बाशुदेव राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट अपाङ्गता कोटातर्फ कांग्रेसबाट निर्वाचित भएका थिए ।

नेकपाका उम्मेदवार सर्जन विकलाई पराजित गर्दै बाशुदेवले ६ हजार ३२२ मतसहित निर्वाचित भएका थिए ।

उनले पार्टीका विभिन्न तहमा रहेर लामो समयदेखि संगठन निर्माण र राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

बाशुदेवको राजनीतिक यात्रा २०२९ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको हो । त्यसपछि उनी तरुण दलमा सक्रिय भए । २०४० सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका उनी अञ्चल तहमा समेत पार्टी जिम्मेवारीमा रहेर काम गरेका छन् । उनले तरुण दलको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

बाशुदेव बनासर क्षेत्रमा नेविसंघ अध्यक्ष बनेर संगठन विस्तारमा महत्वपूर्ण योगदान दिएका छन् । उनी नेपाली कांग्रेसको क्षेत्रीय सभापति समेत भइसकेका छन् ।

Published : Monday, 2026 March 9, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया