कांग्रेसका खत्रीद्वारा पराजय स्वीकार्दै सुदनलाई दिए बधाई, सधैँ जनताको सेवामा रहने
आरुघाट । गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार एवं समाजसेवी प्रेमकुमार खत्रीले निर्वाचनको परिणामलाई लोकतन्त्रको सुन्दर अभ्यासको रूपमा स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई र मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।
आइतबार अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै खत्रीले जनमतलाई शिरोधार्य गर्ने बताए । रास्वपाबाट निर्वाचित प्रतिस्पर्धी सुदन गुरुङलाई खत्रीले सफल कार्यकालको शुभकामना दिएका छन् । गोरखाको विकासका लागि रचनात्मक सहकार्यको प्रतिबद्धता समेत खत्रीले व्यक्त गरेका छन् ।
खत्रीले हिमालपारिदेखि गण्डकी र दरौंदीका फाँटसम्म फैलिएको गोरखा १ को भूगोल चुनौतीपूर्ण र सम्भावनायुक्त रहेको उल्लेख गरेका छन् । उनले भने, ‘यहाँको माटोको भावना, जनताको आवश्यकता र भविष्यको आकांक्षालाई केन्द्रमा राखेर अघि बढ्न म उहाँलाई (सुदन गुरुङ) हार्दिक आग्रह गर्दछु । चुनावी प्रतिस्पर्धा सकिएको छ, अब गोरखाको समृद्धिका लागि मेरो सधैं साथ रहनेछ ।’
आफूलाई उम्मेदवार बनाएकोमा नेपाली कांग्रेस पार्टीप्रति कृतज्ञता प्रकट गर्दै खत्रीले आफ्नो पक्षमा अहोरात्र खटिने नेता, कार्यकर्ता र शुभेच्छुकहरूको पसिना र समर्पणलाई आफ्नो अमूल्य पुँजी भनेका छन् ।
नतिजा आफ्नो पक्षमा नआए पनि मतदाताले देखाएको प्रेम र विश्वासलाई जीवनभर सम्झिरहने उनको भनाइ छ ।
विगत १५ वर्षदेखि गोरखाको सामाजिक सेवा, स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय खत्रीले चुनावी हारले आफ्नो सेवाको यात्रा नरोकिने समेत बताएका छन् ।
आफू हिजो पनि जनताको सुख–दुःखको सारथी रहेको र भोलिका दिनमा झन् बढी जिम्मेवार बनेर सामाजिक अभियानमा सक्रिय रहने खत्रीले बताएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया