मतदान केन्द्रमा खलल पुर्याउने व्यक्ति वा समूहलाई तुरुन्तै कारबाही हुन्छ : आईजीपी कार्की
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्धक्क भएर मतदानमा सहभागी हुन अनुरोध गरेका छन् ।
बुधबार भिडियो सन्देश जारी गरेर कार्कीले देशभरि नै सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले एकीकृत सुरक्षा योजना अनुसार नै सुरक्षा निकाय मतदानस्थलमा खटिएको बताए ।
निर्वाचनलाई आचारसंहित विपरितका काम नगर्न सबैलाई अनुरोध गर्दै आईजीपी कार्कीले त्यसो गरे कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘मतदान केन्द्रमा शान्ति सुरक्षामा खलल पुर्याउने व्यक्ति वा समूहलाई तुरुन्तै नियन्त्रणमा लिएर कानून अनुसार कारबाही हुन्छ ।’
आईजीपी कार्कीले हिमाली क्षेत्रमा चिसो हुने र लामो दुरी हिँड्नुपर्ने भएकाले मौसम अनुसारको योजना बनाइएको बताएका छन् ।
‘मौसमविदसँग पनि यसबारेमा छलफल भयो, पानी पर्ने वा हिमपात हुने सम्भावना नदेखिएको जानकारी आएकाले त्यही अनुसारको व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘निर्वाचन अधिकृत पनि मौसम अनुसार अनुकुल हुनुपर्ने भएकाले सम्बन्धित निर्वाचन क्षेत्रमा खटाइसकेका छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया