निर्वाचनको अवस्थाबारे जानकारी लिन प्रहरीद्वारा सूचना प्रणाली स्थापना
काठमाडौं । नेपाल प्रहरीले निर्वाचनको अवस्थाबारे जानकारी लिन सूचना प्रणाली तयार पारेको छ ।
प्रहरीले पालिकास्तरसम्म जनशक्ति कसरी परिचालन भएको छ र निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सूचना प्रणाली तयार गरेको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । उनले सो प्रणालीले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने बताए ।
प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिने महानिरीक्षक कार्कीले बताएका छन् । उनले भने, ‘मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ । निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेज्मेन्ट सिस्टम सफ्टवेरको विकास गरिएको हो ।’
आईजीपी कार्कीले मतदानस्थलमा मतपेटिका पुगे नपुगे, मतदान प्रकृया सुरु भए नभएको तथा मतदान रोकिएकोलगायत मत गणनाको अवस्थादेखि बिजयी उम्मेदवारसम्मको विवरण प्राप्त हुने बताए । उनले गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीलाई यसबारेमा जानकारी गराएका छन् ।
गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचन सम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको छ ।
केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ । ४१ वटा मतदान केन्द्रमा प्रत्यक्ष अनुगमन गरिन्छ ।
सूचना प्रणाली मार्फत निर्वाचन सम्बन्धी नियमित गतिविधि, जनशक्ति परिचालनको जानकारी लिन सकिन्छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा उपयोगी यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज रुपमा मनिटरिङ गर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया