फेक रेस्क्यूको नाममा ठगी गर्ने समूहका सिंह र तिवारीलाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पर्वतारोहणमा गएका विदेशी नागरिकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार जारी प्रेस विज्ञप्तिअनुसार सीआईबीले विमान सेवा सञ्चालक संघ नेपालका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पक्राउ गरिएको छ । तिवारीलाई मंगलबार र सिंहलाई बुधबार बिहान सीआईबीले पक्राउ गरेको जनाएको छ ।

ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमाका नेपालस्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक समेत गरी ९ जनालाई पक्राउ गरिसकेको छ ।

माउन्टेन रेस्क्यू सर्भिसले गरेका १२४८ वटा उद्धारमध्ये १७१ वटा नक्कली देखा परेका थिए । नेपाल चार्टर्ड सर्भिसले गरेका ४७१ वटा उद्धारमध्ये ७५ वटा शंकास्पद देखिएको थियो । एभरेस्ट एक्स्पेरियन्स एन्ड एसोसिएट्सका ६०१ वटा उद्धारमध्ये ७१ वटा शंकास्पद देखिएको थियो ।

यी कम्पनीहरूले एक करोड ९६ लाख ९० हजार अमेरिकी डलर अर्थात् झन्डै दुई अर्ब ८७ करोड रूपियाँ बीमा दाबी गरेका थिए ।

Published : Wednesday, 2026 February 25, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया