एमालेको झण्डा जलाउने रास्वपाका दुई जना कार्यकर्ता पक्राउ

घोराही । जिल्ला प्रहरी कार्यालय, दाङले एमालेको झण्डा जलाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का थप दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई पक्राउ गरिएको बताए ।

एमालेको झण्डा जलाएको अभियोगमा यसअघि शुक्रबार तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् ।

प्रहरीका अनुसार झण्डा जलाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्य सम्भावित व्यक्तिहरूको खोजी भइरहेको छ ।

दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह आउने खबर पाएपछि तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका रास्वपाका कार्यकर्ताहरूको भीडमा झण्डा जलाइएका थिए ।

Published : Saturday, 2026 February 21, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया