डीआईजी काफ्लेद्वारा प्रहरीका प्रवक्ता र सूचना अधिकारीहरूलाई निर्देशन तथा प्रशिक्षण
काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले विभिन्न प्रहरी कार्यालयका प्रवक्ताहरूसँग छलफल एवम् अन्तरक्रिया गरेका छन् ।
मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालमा डीआईजी काफ्लेले विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा भर्चुअल माध्यमद्वारा पनि सूचना अधिकारी र प्रवक्ताहरू सहभागी भएका छन् ।
डीआईजी काफ्लेले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् ।
काफ्लेले पत्रकार सम्मेलन वा प्रेस विज्ञप्तिमा देखिने प्रवृत्तिहरू, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम(मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिएका छन् ।
डीआईजी काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूलाई नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताए ।
सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै काफ्लेले आम नागरिकमा सकारात्मक सोंच, जनविश्वास, र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न निर्देशन दिए ।
कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्त एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया