भारतले अनुदान सहयोगमा दिएका ५ सय ८८ सवारी साधन नेपाल आइपुगे

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारतबाट अनुदान सहयोग गरिएका ५ सय ८८ थान सवारी साधन नेपाल आइपुगेका छन् ।

२१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्ष्य गरेर भारतले नेपाललाई ७ सय थान सवारी अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएकामा ५ सय ८८ थान नेपाल आइपुगेका हुन् ।

अनुदानका सबै सवारी साधन भन्सार छुटमा जाँचपास गरी नेपाल ल्याइएको हो । यसरी भित्रिएका सवारी साधनमध्ये नेपालका लागि भारतीय राजदूत नवीन श्रीबास्तवले शुक्रबार गृह मन्त्रालयलाई २ सय २६ थान र नेपाली सेनालाई ५० थान बोलेरो जीप हस्तान्तरण गरेका हुन् ।

राजदूत श्रीबास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई २ सय २६ थान र प्रधानसेनापति अशोकराज सिग्देललाई ५० थान हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ । भारतबाट प्रतिबद्धता जनाइएअनुसार बाँकी सवारी साधन अर्को लटमा भित्रिने जनाइएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले अनुदानमा आएका सवारी साधन नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग र मन्त्रालयले प्रयोग गर्ने जानकारी दिइन् । भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि ३५ करोड रुपैयाँ बराबरका गैरघातक, भिड नियन्त्रणका उपकरणहरू पनि अनुदानमा सहयोग गरेको छ ।

यसअघि अर्थ मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका लागि सवारी साधन किन्न केही रकम निकासा गरेको थियो । त्यसबाट अपुग सवारी साधन भारतबाट अनुदानमा आएकाबाट व्यवस्थापन गरिन लागिएको मन्त्रालयले जनाएको छ ।

२३ र २४ भदौको जेन–जी आन्दोलनमा प्रहरी र सशस्त्रका सवारी साधन र ब्यारेक÷कार्यालय जलेका थिए । चालू अवस्थाका थुप्रै सवारी साधन जलेपछि नेपाल प्रहरीले अरु युनिटबाट सापटी लिएर पनि काम चलाउँदै आएको थियो ।

Published : Saturday, 2026 February 14, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया