काठमाडौं ४ मा टिकटको आकांक्षा राखेका राणाद्वारा रास्वपा परित्याग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणयशम्शेर राणाले पार्टी परित्याग गरेका छन् ।
बिहीबार महामन्त्रीलाई सम्बोधन गरेर पत्र पठाउँदै राणाले पार्टी सदस्यताबाट राजीनामा दिएको जनाएका छन् । उनले भने, ‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।’
राणा प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले गरेको प्राइमरी इलेक्सनप्रति असन्तुष्ट थिए । ‘प्राइमरी चुनावमा सधैं ५० प्रतिशत चलखेलको बाटो राखियो । अहिले आएर विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो’, उनले लखेका छन्, ‘१००० सदस्यता शुल्कबाट ३०० पालिकामा आउने भनेको कहिले आएन, प्राइमरीका प्रक्रियामात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता÷अपचलन देखियो ।’
राणाले काठमाडौं क्षेत्र नं. ४ बाट टिकटको आकांक्षा राखेका थिए । रास्वपाले काठमाडौं ४ मा अन्य व्यक्तिलाई टिकट दिएपछि असन्तुष्ट रहेका थिए ।
निर्वाचनको बेला राणाले रास्वपा परित्याग गरेपछि खैलाबैला भएको छ । सहकारी ठगी र संगठित अपराधका अभियुक्त समते रहेका रास्वपाका सभापति रवि लामिछाने प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । लामिछानेले सांसद पदमा जितिहाले भने मुद्दाको किनारा नलाग्दासम्म निलम्बनमा रहनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया