रास्वपाका उम्मेदवार आएपछि बुटवलमा सहकारीपीडितद्वारा प्रदर्शन, खरेल रेष्टुरेन्टभित्र छिरे

बुटवल । रुपन्देही– २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् ।

मंगलबार दिउँसो बुटवल उपमहानगरपालिका वडा नं. ११ होराइजन चोकमा सहकारी पीडितहरूले रास्वपाका उम्मेदवार खरेल मत माग्न हिंड्दै गरेको थाहा पाएपछि पीडितहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

पीडितहरूले सुप्रिम सहकारीको वचत अपचलनमा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘तिम्रो नेता खोई ? लिएर आऊ’, ‘जेनजीका माग कसले पूरा गर्छ ?’, ‘सिंहदरबार किन जलाएको ? लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गरेका छन् । हाम्रो पैसा खाएका मान्छे खुलेआम हिंड्ने, हाम्रो पैसा फिर्ता नहुने ?– पीडितहरूले सामूहिक प्रश्न गरेका छन् ।

सहकारीपीडित जम्मा भएको थाहा पाएपछि रास्वपाका उम्मेदवार खरेल नजिकै रहेको एलडोराडो रेष्टुरेन्टभित्र गएर बसेका पीडित सोनु श्रेष्ठले बताए । बाहिर सहकारी पीडित उभिएको देखेपछि खरेल एक घण्टासम्म रेष्टुरेन्टबाट बाहिर ननिस्केपछि आफूहरू निस्केको श्रेष्ठले बताए ।

‘उहाँ (खरेल) घरदैलोमा हुनुहुन्छ भन्ने थाहा पाएर हामी हाम्रो वचत कहिले फिर्ता हुन्छ भन्ने सोध्न आएका थियौं तर, हामीलाई देखेपछि उहाँ रेष्टुरेन्टभित्र जानुभयो, एक घण्टासम्म कुर्दा पनि बाहिर निस्कनुभएन,’ श्रेष्ठले भने, ‘उहाँ नआएपछि उहाँसँग नभेटी हामी फेरि अर्कोपटक प्रदर्शन गर्ने भनेर निस्क्यौं ।’

‘हामीले दुःख गरेर नखाई/नखाई जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ? हामीलाई यसको जवाफ दिनुप¥यो नि,’ सहकारीपीडित श्रेष्ठले भने, ‘यही प्रश्न सोध्न आएको थियौंैैं । भेट्न पाएनौं, हाम्रो परिवारका दुईजनाको ११ लाख फिर्ता हुनुपर्नेछ ।’

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपियाँभन्दा बढी रकम अपचलन भएको छ । अधिकांश बचतकर्ताहरू न्यून आय भएका छन् । उनीहरूले तीन वर्षदेखि रकम पाउन संघर्ष गर्दै आएका छन् ।

सहकारीपीडितले आफ्नो प्रचार अभियानमा प्रदर्शन गरेको बिषयमा उम्मेदवार खरेलले भने अनभिज्ञता प्रकट गरे । उनले चुनावका बेलामा यस्ता घटना हुने भन्दै यो विषय आफ्नो नभएको बताए ।

सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपियाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको छ ।

यसमध्ये २ करोड रुपियाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको अभियोग छ । सुप्रिमको रकम अपचलनमा संलग्न रहेको अभियोग लागेका रास्वपा अध्यक्ष रवि लामिछानेले सहकारी ठगी तथा संगठित अपराध मुद्धामा रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उनले सोमबार मात्रै तारेख लिएका थिए ।

Published : Wednesday, 2026 February 11, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया